ग्रामीण महिला उद्यमीलाई अनुदान दिने उज्यालो नेपाल पार्टीको घोषणा

काठमाडौं । उज्यालो नेपाल पार्टीले घोषणापत्रमा महिला पर्यटन उद्यमीलाई वातावरण संरक्षणका लागि अनुदान उपलब्ध गराउने योजना अघि सारेको छ । पार्टीको घोषणापत्रअनुसार दिगो तथा समावेशी पर्यटन कोष स्थापना गरी सोही कोषबाट अनुदान उपलब्ध गराइने जनाएको छ ।

‘पर्यटनबाट प्राप्त राजस्वबाट पाँच अर्ब रुपैयाँको पर्यटन समृद्धि कोष स्थापना गरी ग्रामीण महिला पर्यटन उद्यमीलाई वातावरण संरक्षणका लागि अनुदान उपलब्ध गराइनेछ,’ घोषणापत्रमा उल्लेख छ ।

घोषणापत्रअनुसार नेपाल पर्यटन दशक २०२६–२०३५ लाई प्रभावकारी रूपमा कार्यान्वयन गर्दै सन् २०३५ सम्म वार्षिक ३५ लाख पर्यटक भित्र्याउने लक्ष्य राखिएको छ । धार्मिक, सांस्कृतिक, साहसिक तथा इको–पर्यटनलाई प्रवर्द्धन गर्दै नेपाललाई ‘३६५ दिन पर्यटन गन्तव्य’ का रूपमा विकास गर्ने प्रतिबद्धता पार्टीले जनाएको छ ।

त्यस्तै, पार्टीले पर्यटन पूर्वाधार तथा कनेक्टिभिटी सुधार गर्न स्वदेशी तथा विदेशी हवाई सेवासँग सहकार्य गरी १० प्रमुख विमानस्थललाई ‘बुटिक एयरपोर्ट’ का रूपमा विकास गर्ने उल्लेख गरेको छ । हवाई कनेक्टिभिटी विस्तारसँगै उडान गन्तव्य वृद्धि गर्ने, सडक, केबलकार तथा होमस्टे जस्ता पूर्वाधारलाई सुरक्षित र गुणस्तरीय बनाउने योजना पनि घोषणापत्रमा समावेश गरिएको छ ।   

Share News