काठमाडौं । निर्वाचन आयोगले फागुन ४ गतेदेखि १८ गतेसम्म प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि प्रचार–प्रसारको समय तोक्दै सरोकारवालाहरूलाई आचारसंहिताको पूर्ण पालना गर्न निर्देशन दिएको छ ।
निर्वाचन आयोगले तोकिएको कार्यतालिका बमोजिम राजनीतिक दल र उम्मेदवारहरूलाई चुनावी प्रचारप्रसारका लागि निश्चित समयसीमा प्रदान गरेको हो ।
आयोगका अनुसार २०८२ फाल्गुन ३ गते राती १२ बजेपछि अर्थात् फाल्गुन ४ गतेदेखि शुरु हुने यो प्रचार अवधि फाल्गुन १८ गते राति १२ बजेसम्म कायम रहने आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले बताए ।
उनका अनुसार आयोगले प्रचारप्रसारका क्रममा राजनीतिक दल, उम्मेदवार, नेता, प्रतिनिधि र शुभेच्छुकहरूलाई निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न निर्देशन दिएको छ ।
सञ्चारकर्मीहरूसँगको भेटघाटमा आयोगले आचारसंहिताको सीमा रेखाभित्र रहेर मात्र चुनावी गतिविधि सञ्चालन गर्न र कुनै पनि प्रकारको उल्लंघन नगर्न सबै सरोकारवालाहरूलाई सचेत गराएको छ ।