काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले बदलिएको नेपाली कांग्रेस प्रतिनिधिसभा निर्वाचनमा बहुमत ल्याउने दिशातर्फ अग्रसर रहेको दाबी गरेका छन् । आइतबार राजधानीमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उपसभापति शर्माले देशव्यापी रूपमा कांग्रेसप्रति सकारात्मक जनलहर देखिएको जिकिर गरे ।
उनले पछिल्लो समय विभिन्न जिल्लाबाट नयाँ अनुहारहरू पार्टीमा आबद्ध भइरहेको उल्लेख गर्दै यसले कांग्रेसप्रतिको भरोसा बढ्दै गएको संकेत गरेको बताए ।
‘अहिलेकै अवस्थाले कांग्रेस सबैभन्दा ठूलो दल बन्ने निश्चित देखिन्छ,’ उनले भने ।
यही गतिमा जनमत विस्तार हुँदै जाँदा आगामी एक हप्ताभित्रै कांग्रेस बहुमतको तहमा पुग्ने आधार तयार हुने शर्माको दाबी रहेको छ ।
शर्माले कांग्रेसले संगठन सुदृढीकरण, नीतिगत स्पष्टता र जनमुखी कार्यक्रममार्फत आफूलाई बदलिएको शक्तिका रूपमा प्रस्तुत गरिरहेको दाबी गरेका छन् ।
उनले विगतका कमजोरीबाट पाठ सिक्दै पार्टीलाई समावेशी, पारदर्शी र उत्तरदायी बनाउने प्रयास तीव्र बनाइएको बताए ।
उनका अनुसार आसन्न निर्वाचन केवल सत्ताको प्रतिस्पर्धा नभई देशको स्थायित्व, सुशासन र आर्थिक पुनरुत्थानको दिशामा जनमत प्राप्त गर्ने अवसर हो । जनताले अब स्थिर सरकार र परिणाममुखी नेतृत्व खोजिरहेका छन् । उनले भने, ‘कांग्रेस त्यही अपेक्षाको केन्द्रमा छ ।’
उपसभापति शर्माले पार्टीका नेता–कार्यकर्तालाई घरदैलो अभियान, मतदाता संवाद र नीतिगत बहसलाई तीव्र बनाउन निर्देशन दिँदै संगठनात्मक एकता कायम राख्न आग्रह गरे ।
उनले लोकतान्त्रिक मूल्यमान्यताको रक्षा, अवसरको समान वितरण र सुशासनलाई कांग्रेसको मुख्य एजेन्डा बनाइने पनि स्पष्ट पारे ।