रास्वपाको नौलो सुरुवात : मतदातासँग करार, ७ गते कर्णालीबाट वाचापत्र सार्वजनिक गरिने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आसन्न निर्वाचनलाई लक्षित गर्दै आफ्नो चुनावी अभियानमा नयाँ अभ्यासको सुरुवात गरेको छ । पार्टीले मतदातासँग करार गर्ने अवधारणा अघि सारेको हो । जसअन्तर्गत उम्मेदवार र मतदाताबीच स्पष्ट प्रतिवद्धता र जवाफदेहिताको सम्बन्ध स्थापित गर्ने दाबी रास्वपाले गरेको छ ।

पार्टीका सभापति रवि लामिछानेले आइतबार (आज) सामाजिक सञ्जालमार्फत उक्त करारपत्र सार्वजनिक गर्दै यसलाई परम्परागत घोषणापत्रभन्दा फरक अभ्यास भएको बताएका छन् । 

उनका अनुसार निर्वाचनमा जितेपछि गर्ने काम, समयसीमा, प्राथमिकता र सार्वजनिक प्रतिवेदन प्रस्तुत गर्ने प्रक्रियासमेत करारपत्रमा उल्लेख गरिएको छ ।

रास्वपाले सार्वजनिक गरेको करारपत्रमा सुशासन, पारदर्शिता, सेवा प्रवाहमा सुधार, भ्रष्टाचार नियन्त्रण, कानुनी सुधार तथा नागरिक सहभागितालाई मुख्य प्राथमिकतामा राखिएको छ । 

करारअनुसार निर्वाचित प्रतिनिधिले निश्चित समय अन्तरालमा कार्यप्रगति सार्वजनिक गर्नुपर्ने, प्रतिबद्धता पूरा नभए स्पष्टीकरण दिनुपर्ने र आवश्यक परे जनतामाझ पुनः विश्वासको मत लिनेसम्मको नैतिक जिम्मेवारी वहन गर्नुपर्ने उल्लेख छ ।

पार्टीका कोषाध्यक्ष लिमा अधिकारीका अनुसार यो अभ्यासले निर्वाचनपछि पाँच वर्षसम्म जनप्रतिनिधि सम्पर्कविहीन हुन्छन् भन्ने आलोचनालाई अन्त्य गर्ने विश्वास गरिएको छ । मतदाताले आफ्नो प्रतिनिधिसँग प्रत्यक्ष सरोकार राख्ने, वाचा कार्यान्वयन भए/भएको अनुगमन गर्ने र आवश्यक परे सार्वजनिक दबाब सिर्जना गर्ने आधार तयार हुने दाबी अधिकारीको छ ।

चुनावी प्रतिस्पर्धा तीव्र बन्दै गएको अवस्थामा रास्वपाले अघि सारेको यो मतदाता–प्रतिनिधि करार अवधारणाले अन्य दलहरूलाई पनि आफ्नो प्रतिबद्धता स्पष्ट पार्न दबाब दिने संकेत देखिएको छ । 

कोषाध्यक्ष अधिकारीका अनुसार करार पत्रमा समेटिएका विषय सहित रास्वपाले आफ्नो वाचापत्र फागुन ७ गते गर्नेछ । 

‘फागुन ७ गते कर्णालीबाट वाचापत्र सार्वजनिक गरिने छ,’ अधिकारीले भनिन्, ‘जे बोल्छौं त्यही गर्छौं, जे गर्छौं त्यही लेख्छौं । सोही आधारमा तयार पारीएको वाचापत्र फागुन ७ गते सार्वजनिक गर्छौं ।

null

Share News