काठमाडौं । चितवन जिल्लाको निर्वाचनलाई निष्पक्ष, धाँधलीरहित र सुरक्षित बनाउन सुरक्षा निकायले आफ्नो सक्रियतालाई तीब्र पारेको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक (एसपी) गोविन्द पुरीकाअनुसार आसन्न निर्वाचनको अवधिभर सम्भावित सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै विशेष सुरक्षा रणनीति कार्यान्वयनमा ल्याइएको हो ।
निर्वाचन आयोगले तोकेको प्रचारप्रसारको १५ दिने अवधिलाई लक्षित गर्दै (सोमवार) ४ गतेदेखि जिल्लाका सबै निर्वाचन क्षेत्रमा सभा, सम्मेलन र जुलुस हुने भएकाले सुरक्षा परिचालन अझ प्रभावकारी बनाइने एसपी पुरीले जानकारी दिए ।
उनका अनुसार नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको संयुक्त टोलीले राजमार्गदेखि सबै निर्वाचन क्षेत्रका मुख्य नाकाहरूमा आकस्मिक जाँच (सरप्राइज चेकिङ) सुरु गरिसकेको छ ।
चितवन देशको मध्य भागमा अवस्थित हुनाले यसलाई सुरक्षाका दृष्टिकोणले महत्वपूर्ण ‘ट्रान्जिट प्वाइन्ट’ मानिन्छ । अन्य जिल्लाबाट हुनसक्ने अवैध सामग्रीको ओसारपसार र निर्वाचन बिथोल्ने प्रयासलाई रोक्न प्रहरीले तालिमप्राप्त कुकुरहरूको प्रयोग गरी ठाउँ–ठाउँमा चेक प्वाइन्ट स्थापना गरेको छ । यसले निर्वाचनलाई स्वच्छ र मर्यादित बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ ।
जिल्लाका तीन वटा निर्वाचन क्षेत्रबाट चुनावी मैदानमा रहेका कुल ६४ जना उम्मेदवारहरूको सुरक्षालाई प्रहरीले उच्च प्राथमिकतामा राखेको छ । उम्मेदवारहरूले गर्ने घरदैलो कार्यक्रम र चुनावी प्रचारप्रसारका क्रममा आवश्यक सुरक्षा समन्वय मिलाइएको छ ।
प्रहरीले जिल्लाभर लङ रेन्ज पेट्रोल र सर्ट रेन्ज पेट्रोललाई नियमित बनाएको छ ।
चितवनमा ठूला राजनीतिक दलका शीर्ष नेताहरूको उपस्थिति र प्रतिष्पर्धा हुने भएकाले पनि सुरक्षा निकायले यहाँ विशेष निगरानी बढाएको हो । हालसम्म जिल्लामा कुनै अप्रिय घटना नभएको र सुरक्षा स्थिति चुस्तदुरुस्त रहेको प्रहरीले दाबी गरेको छ ।