नेपालले म्यानमारलाई गर्‍यो ५ करोड ७५ लाख बराबर सहयोग

काठमाडौं । नेपाल सरकारले गत मार्चको शक्तिशाली भूकम्पबाट क्षतिग्रस्त म्यानमारका दुई धार्मिक सम्पदास्थलको पुनर्निर्माणका लागि म्यानमार सरकारलाई ३ लाख ५० हजार अमेरिकी डलर (५ करोड ७५ लाख रुपैयाँ) प्रदान गरेको छ ।

म्यानमारका लागि नेपालका राजदूत हरिश्चन्द्र घिमिरेले म्यानमारको मण्डले सहरको दक्षिण–पश्चिम क्षेत्रमा अवस्थित महामुनी पगोडा परिसरमा हालै आयोजित समारोहमा पगोडाका महासचिव थान उलाई तीन लाख अमेरिकी डलरको चेक हस्तान्तरण गरेको याङ्गुनस्थित नेपालको राजदूतावासले जनाएको छ । 

साथै उनले गङ्गाघाट हिन्दू मन्दिरको पुनर्निर्माणका लागि ५० हजार अमेरिकी डलरको चेक उक्त मन्दिरका अध्यक्ष पवन बजोरियालाई हस्तान्तरण गरे ।

गङ्गाघाट मन्दिर म्यानमारमा बसोबास गर्ने नेपाली समुदायको महत्त्वपूर्ण धार्मिकस्थल हो। 

साझा धार्मिक सम्पदाको संरक्षण तथा प्राकृतिक विपत्तिबाट प्रभावित सांस्कृतिक महत्त्वका स्थलहरूको पुनःस्थापनामा सहयोग गर्ने नेपाल सरकारको प्रतिबद्धता झल्काउने उक्त दूतावासले जारी गरेको विज्ञप्तिमा जनाइको छ । 

Share News