१२० देशसँग नेपालको व्यापार घाटा, ३२ देशसँग नाफा

काठमाडौं । आर्थिक वर्ष २०८२ को ६ महिनामा नेपालले १२० देशसँग व्यापार घाटा बेहोरेको छ । भन्सार विभागको तथ्यांकअनुसार २०८२ साउनदेखि २०८२ पुससम्ममा विभिन्न मुलुकबाट आएका मालवस्तुका आधारमा यस्तो अवस्था देखिएको हो ।

यो अवधिमा नेपालले १५२ देशसँग व्यापार गरेको छ । त्यसमध्ये विभिन्न ३२ मुलुकसँग नेपालको नाफा रहेको भन्सार विभागले जनाएको छ ।

भन्सार विभागको तथ्यांकअनुसार नेपालले ६ महिनामा ९ खर्ब ३९ अर्ब २ करोड रुपैयाँ बराबरको वस्तु आयात गरेको छ । यही अवधिमा निर्यात भने १ खर्ब ४२ अर्ब १ करोड रुपैयाँमा सीमित भएको छ । यसले गर्दा देशले कुल ७ खर्ब ९७ अर्ब रुपैयाँको व्यापार घाटा बेहोरेको छ ।

सबैभन्दा बढी व्यापार घाटा भारतसँग 

नेपालले सबैभन्दा धेरै व्यापार छिमेकी मुलुक भारतसँग गर्दै आइरहेको छ । त्यसैले सबैभन्दा धेरै व्यापार घाटा पनि भारतसँग नै रहेको छ । पुस मसान्तसम्मको तथ्यांकअनुसार नेपालले भारतबाट ५ खर्ब ३२ अर्ब ४५ करोड रुपैयाँको वस्तु आयात गर्दा जम्मा १ खर्ब १५ अर्ब ७४ करोड रुपैयाँको मात्र निर्यात गर्न सकेको छ । यसबाट भारतसँग मात्रै नेपालको ४ खर्ब १६ अर्ब ७१ करोड रुपैयाँ बराबरको  व्यापार घाटा देखिन्छ ।

त्यसैगरी, दोस्रो ठूलो व्यापार घाटा चीनसँग रहेको छ । ६ महिनामा चीनबाट १ खर्ब ९६ अर्ब ९४ लाख रुपैयाँ बराबरको वस्तु आयात हुँदा नेपालबाट चीनतर्फ निर्यात ६४ करोड ९ लाख रुपैयाँ भएको छ । पुससम्ममा चीनसँग मात्रै १ खर्ब ९५ अर्ब ३६ करोड ८४ लाख रुपैयाँ व्यापार घाटा देखाउँछ ।

२० भन्दा बढी देशसँग अर्बको व्यापार घाटा

भारत र चीन मुलुकबाहेक अर्जेन्टिना, युनाइटेड अरब इरिमेट्स(युएई), इन्डोनेसिया, थाइल्याण्डलगायत देशसँग पनि नेपालको ठुलो व्यापार घाटा रहेको छ । भन्सार विभागका तथ्यांकअनुसार २० भन्दा बढी मुलुकसँग नेपालको अर्ब रुपैयाँभन्दा बढीको व्यापार घाटा रहेको छ । ६ महिनाको अर्जेन्टिनाबाट ५४ अर्ब ४४ करोड रुपैयाँको वस्तु आयात गर्दा २४ लाख रुपैयाँ बराबरको मात्रै निर्यात गरेको छ । अर्जेन्टिनासँग नेपालको व्यापार घाटा ५४ अर्ब ४३ करोड ८३ लाख रुपैयाँ रहेको छ । अर्जेन्टिनापछि युएईसँग नेपालको व्यापार घाटा ३०  अर्ब ८७ करोड रुपैयाँ छ।

त्यस्तै, इन्डोनेसियासँग ९ अर्ब ८१ करोड रुपैयाँ, थाइल्याण्डसँग ९ अर्ब १० करोड रुपैयाँ, अस्ट्रेलियासँग ५ अर्ब १५ करोड रुपैयाँ, मलेसियासँग ५ अर्ब ९४ करोड रुपैयाँ, ब्राजिलसँग ५ अर्ब ७ करोड रुपैयाँ, ब्रुनाईसँग ४ अर्ब ५७ करोड रुपैयाँ, युक्रेनसँग ४ अर्ब ४० करोड रुपैयाँ व्यापार घाटा छ ।

बंगलादेशसँग २ अर्ब ८२ करोेड रुपैयाँ, क्यानडासँग ३ अर्ब ३८ करोड रुपैयाँ, हङकङसँग ३ अर्ब ९ करोड रुपैयाँ, जापानसँग ३ अर्ब ११ करोड रुपैयाँ, कतारसँग ३ अर्ब १४ करोड, अमेरिकासँग ३ अर्ब ६८ करोड रुपैयाँ, भियतनामसँग ३ अर्ब ७ करोड रुपैयाँ, जोर्डनसँग २ अर्ब ४३ करोड रुपैयाँ, कोरियासँग २ अर्ब ६४ करोड रुपैयाँ सिंगापुरसँग २ अर्ब ५४ करोड रुपैयाँ, इटालीसँग १ अर्ब ७४ करोड रुपैयाँ र पराग्वेसँग १ अर्ब ४७ करोड रुपैयाँ बराबरको व्यापार घाटा देखिन्छ ।

५०  भन्दा बढी देशसँग करोडको व्यापार घाटा

न्युजिल्याण्डसहित ५० भन्दा बढी मुलुकसँग नेपालको व्यापार घाटा रहेको छ । भन्सार विभागको तथ्यांकअनुसार न्युजिल्याडसँग ८९ करोड २३ लाख रुपैयाँ, म्यानमारसँग ८७ करोड ८४ लाख रुपैयाँ, ताइवानसँग ७२ करोड ११ लाख रुपैयाँ, स्पेनसँग ७० करोड ३३ लाख रुपैयाँ, टर्कीसँग ६६ करोड १८ लाख रुपैयाँ, बेल्जियमसँग ६६ करोड ४९ लाख रुपैयाँ, पोल्याण्डसँग ६४ करोड ९५ लाख रुपैयाँ, बेलायतबाट  ५७ करोड ५२ लाख रुपैयाँ, फिलिपिन्ससँग ५५ करोड ७५ लाख रुपैयाँ, नाइजेरियासँग ४६ करोड ८० लाख रुपैयाँ नेपालको व्यापार घाटा रहेको छ ।

३० भन्दा बढी मुलुकसँग नाफा 

६ महिनाको तथ्यांकअनुसार ३० भन्दा बढी मुलुकसँग नेपालको व्यापार नाफा रहेको छ । डेनमार्कसँग ४१ करोड रुपैयाँ, स्वीडेनसँग ३ करोड ३१ लाख रुपैयाँ, क्रेज रिपब्लिकसँग २६ करोड ५१ लाख रुपैयाँ, रोमानियासँग ५ करोड ९१ लाख रुपैयाँ, कोस्टारिकासँग ३  करोड ८५ लाख रुपैयाँ नाफा रहेको छ ।

त्यस्तै, नर्वेसँग १ करोड ६८ लाख रुपैयाँ, अमेरिकन सामोआ १ करोड ६५ लाख रुपैयाँ, कोलम्बिया ८६ लाख ९६ हजार रुपैयाँ नाफा रहेको छ । नेपालसँग नाफा भएका मुलुकहरूमा अंगोला, बारबादोस, आइसल्याण्ड, कंगो, जर्जिया, जमैका, किर्गिस्तान, आइसल्याण्ड, माल्दिभ्स, माली, माल्टा, पानामा,सिरिया, उराग्वेलगायत हुन् । 

Share News