काठमाडौं । नेपालमा सञ्चालनमा रहेका दुई पुनर्बीमा कम्पनी नेपाल रि र हिमालयन रिले चालु आर्थिक वर्ष २०८२/८३ को ६ महिनामा विभिन्न क्षेत्रमा ३७ अर्ब ७ करोड ९० लाख रुपैयाँ लगानी गरेका छन् ।
नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार हिमालयन रि इन्स्योरेन्सले १८ अर्ब ७९ करोड ६६ लाख रुपैयाँ र नेपाल पुनर्बीमा कम्पनीले १८ अर्ब २८ करोड २३ लाख रुपैयाँ लगानी गरेको छ ।
बीमा कम्पनीहरूको ठूलो लगानी बैंकहरूको मुद्दति निक्षेपमा भएजस्तै पुनर्बीमा कम्नपनीहरूको पनि सबैभन्दा धेरै लगानी त्यसैमा देखिएको छ । नेपाल रिको कुल लगानीमा बैंकहरूको मुद्दतिको हिस्सा ७८.३४ प्रतिशत रहेको छ ।
बैंकहरूको मुद्दति निक्षेपमा नेपाल रिको लगानी १४ अर्ब ३२ करोड २८ लाख रुपैयाँ रहेको छ । नेपाल रिले क वर्गको बैंकमा १२ अर्ब ८२ करोड रुपयाँ, पूर्वाधार बैंकमा २६ करोड रुपैयाँ, ख वर्गको मुद्दति निक्षेपमा १ अर्ब १४ करोड रुपैयाँ र ग वर्गको वित्तीय संस्थामा १० करोड रुपैयाँ मुद्दति निक्षेपका रूपमा लगानी रहेको छ ।
नेपाल रिले सूचीकृत पब्लिक कम्पनीको सेयरमा ९ करोड ४७ लाख रुपैयाँ, बैंक तथा वित्तीय संस्थाको अग्राधिकार सेयर, बन्ड, डिबेन्चर र ऋणपत्रमा १ अर्ब ५४ करोड ६२ लाख रुपैयाँ, नागरिक लगानी कोष र म्युचुअल फन्डमा ५६ करोड ४७ लाख रुपैयाँ, अन्य संस्थापक सेयरमा ५९ करोड ६५ लाख रुपैयाँ, सूचीकृत नभएका पब्लिक कम्पनीको सेयरमा ५० करोड ७२ लाख रुपैयाँ र अन्य क्षेत्रमा ६५ करोड रुपैयाँ लगानी रहेको छ।
हिमालयन रिको वाणिज्य बैंकको निक्षेपमा कुल लगानीको ६३.३३ प्रतिशत लगानी रहेको छ । हिमालयन रिले क वर्गका बैंकहरूको मुद्दति निक्षेपमा ११ अर्ब ९० करोड ४२ लाख रुपैयाँ लगानी गरेको छ ।
त्यस्तै, हिमालयन रिले सूचीकृत पब्लिक कम्पनीको सेयरमा ४ अर्ब ६२ करोड १६ लाख रुपैयाँ, बैंक तथा वित्तीय संस्थाको अग्राधिकार सेयर, बन्ड, डिबेन्चर र ऋणपत्रमा २० करोड १० लाख रुपैयाँ, नागरिक लगानी कोष र म्युचुअल फन्डमा ७९ करोड रुपैयाँ, इन्भेस्टमेन्ट कम्पनीको सेयरमा १ अर्ब ५ करोड रुपैयाँ, अन्य संस्थापक सेयरमा २२ करोड ५० लाख रुपैयाँ र अन्य क्षेत्रमा ४७ लाख ८० हजार रुपैयाँ लगानी गरेको छ ।