जनकपुरधाम । नेपाली कांग्रेस मधेश प्रदेश समितिले फागुन ६ गते जनकपुरधाममा आयोजना हुने ‘प्रतीज्ञा सभा’ को सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । आसन्न प्रतिनिधि सभा निर्वाचन (फागुन २१) लक्षित उक्त सभालाई कांग्रेसले ‘पहिलो ऐतिहासिक प्रतीज्ञा सभा’ का रूपमा प्रस्तुत गरेको छ ।
प्रदेश समितिका सभापति कृष्णप्रसाद यादवले सभामा पार्टीका शीर्ष नेताहरूको सहभागिता रहने जानकारी दिए । सभामा नेपाली कांग्रेसका सभापति गगनकुमार थापा, उपसभापति विश्वप्रकाश शर्मा लगायत केन्द्रीय तहका प्रमुख नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको जनाइएको छ ।
वक्तव्यमा जनकपुरधामलाई ‘ऐतिहासिक तथा सांस्कृतिक नगरी’ का रूपमा वर्णन गर्दै मधेशको स्वाभिमान, समावेशी लोकतन्त्र र राष्ट्रिय एकताको सन्देश प्रवाह गर्ने उद्देश्य राखिएको बताइएको छ ।
नेपाली कांग्रेसले मधेश आन्दोलनपछिको राजनीतिक यात्रामा मधेशका जनताको पहिचान, अधिकार, समानुपातिक समावेशिता र सशक्तीकरणका मुद्दालाई मूल एजेण्डाका रूपमा आत्मसात गरेको सभापति यादवले बताए ।
मधेशको विकास, शिक्षा, स्वास्थ्य, कृषि आधुनिकीकरण, रोजगारी सिर्जना तथा पूर्वाधार विस्तारमा पार्टी सधैं प्रतिबद्ध रहेको दाबी गरिएको छ ।
कांग्रेसले आगामी चुनावी घोषणा पत्रका रूपमा सार्वजनिक गर्न गइरहेको ‘प्रतीज्ञा पत्र’ मधेशबाटै प्रारम्भ गर्ने निर्णय गरिएको यादवले जारी गरेको वक्तव्यमा जनाइएको छ ।
मधेशको समृद्धि, कृषिको आधुनिकीकरण, उद्योग तथा व्यापार विस्तार, सीमावर्ती क्षेत्रको व्यवस्थित विकास, युवालाई रोजगारी, महिला सशक्तीकरण र सामाजिक न्याय सुनिश्चित गर्ने कार्ययोजनासहित पार्टी अगाडि बढ्ने प्रतिबद्धतासमेत व्यक्त गरिएको छ ।
‘प्रतीज्ञा सभा’ मार्फत जनतासँग प्रत्यक्ष संवाद गर्दै सुशासन, पारदर्शिता, भ्रष्टाचार नियन्त्रण, शिक्षा र स्वास्थ्यमा गुणस्तरीय सेवा, संघीयताको प्रभावकारी कार्यान्वयन तथा प्रदेश र स्थानीय तहको सुदृढीकरणका विषयमा पनि धारणा प्रस्तुत गरिनेछ ।
वक्तव्यमा आसन्न निर्वाचनमा कांग्रेसको चुनाव चिन्ह ‘रुख’ मा मतदान गर्न अपिल पनि गरिएको छ ।