काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएशन (नाइमा) ले ‘ट्याक्सीको रूपमा प्रयोग हुने सवारी सम्बन्धी राष्ट्रिय मापदण्ड २०८१ सम्बन्धमा देखिएका व्यवहारिक तथा नीतिगत विषयहरूबारे आफ्नो विस्तृत सुझाव भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा औपचारिक रूपमा पेश गरेको छ ।
नाइमाले जारी गरेको प्रेस विज्ञप्तिअनुसार हाल कार्यान्वयनमा रहेको मापदण्डले ट्याक्सी सेवालाई साधारण, विशेष र विशिष्ट गरी तीन वर्गमा वर्गीकरण गरेको छ। प्रत्येक वर्गका लागि प्राविधिक, सुरक्षा र सेवा सम्बन्धी विशिष्ट मापदण्ड तोकिएका छन् । मापदण्डअनुसार, ती शर्तहरू पूरा गर्ने सवारी साधनलाई ट्याक्सी सेवामा समावेश गर्न सकिने व्यवस्था स्पष्ट छ ।
तर व्यवहारमा बागमती प्रदेशमा हाल सेडानले मात्र ट्याक्सी सेवा सञ्चालनको अनुमति पाएको छ । मापदण्डअनुसार सेडान बाहेकका अन्य उपयोगी र यात्रुमैत्री सवारी साधनहरू पनि ट्याक्सी सेवामा समावेश हुन सक्ने भए पनि हाल त्यसो नहुँदा नाइमाले ध्यानाकर्षण गराएको छ ।
विविध सवारी वर्गलाई ट्याक्सी सेवामा अनुमति दिँदा सेवा प्रदायकले आवश्यकताअनुसार लचकता पाउने, यात्रुहरूले सुविधा, सामान राख्ने स्थान र अपाङ्गता मैत्री पहुँच पाउने र समूहअनुसार वा परिवारका आवश्यकताअनुसार अतिरिक्त विकल्पहरू उपलब्ध हुने नाइमाले उल्लेख गरेको छ ।
विज्ञप्तीमा विश्वका विभिन्न देशमा ट्याक्सी सेवा विभिन्न आकार र वर्गका सवारी साधनमार्फत सञ्चालन भइरहेको तथ्यसमेत प्रस्तुत गरिएको छ ।
नाइमाले नेपालमा विशेषगरी बागमती प्रदेशमा विकल्प सीमित रहेको र केही अन्य सहरहरूमा फरक वर्गका सवारीसाधनलाई अनुमति दिइएको भए पनि सबैतिर समानता र व्यावहारिकपन नभएको बताएको छ ।
नाइमाले मन्त्रालयद्वारा तयार पारिएको नीतिगत ढाँचाको उद्देश्य र भावनाको पूर्ण सम्मान व्यक्त गर्दै आफ्ना सुझावहरू पेश गरिएको स्पष्ट पारेको छ । यी सुझावहरू उद्योगगत अनुभव, व्यवहारिक आवश्यकता र सेवाको गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यले तयार पारिएको बताइएको छ ।