ओली र बालेनले आफै चलाउँदैनन् आफ्नै बैंक खाता

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का बालेन्द्र शाह (बालेन)को निर्वाचन प्रयोजनका लागि खोलिएको बैंक खाता प्रतिनिधिले नचलाएको खुलेको छ । निर्वाचन आयोगले फागुन २१ गते हुने निर्वाचनका लागि उम्मेदवारलाई खाता खोल्न निर्देशन दिएको थियो । तर, ओली र बालेनले आफ्नो बैंक खाता आफ्ना प्रतिनिधिले चलाउने गरी कागज बनाएका हुन् ।

रोमनाथ ओली र रामनाथ गौतमले अध्यक्ष ओलीको प्रतिनिधि बनेर बैंक खाता चलाउने निर्वाचन कार्यालय झापाले जानकारी दिएको छ । 

त्यस्तै, बालेन्द्र शाहको खाता उनका प्रतिनिधि नवीन भण्डारीले चलाउन पाउनेगरी कागजात बनाइएको छ । झापाका विभिन्न निर्वाचन क्षेत्रका ६५ जना उम्मेदवारले बैंक खाता खोलिसकेका छन् ।

निर्वाचन आयोगले आसन्न फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वच्छ, पारदर्शी र मितव्ययी बनाउन निर्वाचन प्रचारप्रसारका लागि बैंक खाता अनिवार्य गर्ने व्यवस्था कार्यान्वयनमा ल्याएको छ ।

आयोगका अनुसार राजनीतिक दल तथा उम्मेदवारहरूलाई आर्थिक अनुशासनमा बाँध्न र निर्वाचन आचारसंहितालाई प्रभावकारी बनाउन यस्तो कदम चालिएको हो ।

आयोगले ‘प्रतिनिधि सभा सदस्य निर्वाचन प्रचारप्रसार बैंक खाता सञ्चालन तथा व्यवस्थापन कार्यविधि, २०८२’ स्वीकृत गर्दै सबै उम्मेदवारलाई छुट्टै बैंक खाता सञ्चालन गर्न निर्देशन दिएको छ । नयाँ व्यवस्थाअनुसार २५ हजार रुपैयाँभन्दा बढीको कुनै पनि आर्थिक सहयोग प्राप्त गर्दा अनिवार्य रूपमा बैंकमार्फत नै गर्नुपर्नेछ ।

नेपाली नागरिक वा संगठित संस्थाबाट प्राप्त हुने स्वेच्छिक सहयोगलाई पारदर्शी बनाउन रसिदको व्यवस्था गरिएको छ ।

निर्वाचन आयोगका सचिव कृष्णबहादुर राउतका अनुसार निर्वाचन आचारसंहिताको दफा १६ ले निर्दिष्ट गरे बमोजिम खर्चको विवरण र बिल भरपाई तोकिएको समयभित्र आयोगमा बुझाउनु पर्नेछ ।

Share News