काठमाडौं । नेपालकै पहिलो नागढुङ्गा सुरुङमार्ग सञ्चालनका लागि नेपाली कम्पनीहरूले पनि आवेदन दिएका छन् । नागढुङ्गा सुरुङमार्ग आयोजनाका सूचना तथा उपसचिव अधिकारी सञ्जय पन्थीका अनुसार सुरुङमार्ग सञ्चालन र व्यवस्थापनका लागि १० वटा नेपाली कम्पनीले पनि आवेदन दिएका हुन् ।
उनले सुरुङमार्ग सञ्चालनका लागि ६ वटा चिनियाँ, ३ वटा भारतीय र १ वटा टर्की कम्पनीले नेपाली कम्पनीहरूसँग संयुक्त उपक्रम (ज्वाइन्ट भेन्चर) मा काम गर्ने गरी आवेदन दिएको जानकारी दिए ।
उनका अनुसार नेपाली कम्पनीहरूमा स्वच्छन्द निर्माण सेवा, काष्ठमण्डप कन्स्ट्रक्सन प्रालि, कुमार श्रेष्ठ निर्माण सेवा प्रालि, भागेश्वर कन्स्ट्रक्सन प्रालि, समानान्तर निर्माण सेवा प्रालि, वेदान्शी इन्फ्रास्ट्रक्चर लिमिटेड, एआरटी कन्स्ट्रक्सन, बावरी कन्स्ट्रक्सन प्रालि, ब्राइट बुल निर्माण सेवा तथा दान्फे कन्स्ट्रक्सन कम्पनी प्रालि रहेका छन् । यी मध्ये छनोट हुने कम्पनीले ज्वाइन्ट भेन्चरका रूपमा विदेशी कम्पनीसँग मिलेर काम गर्नेछन् ।
जसअनुसार स्वच्छन्द निर्माण सेवासँग विदेशी कम्पनी सेग्मेन्टल इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट लिमिटेड मिलेर सेग्मेन्टल–स्वच्छन्द जेभीका रुपमा भएर काम काम गर्नेछ भने काष्ठमण्डप कन्स्ट्रक्सन प्रालिसँग गान्सु हेङतोङ रोड एण्ड ब्रिज इन्जिनियरिङ कम्पनी लिमिटेड मिलेर काष्ठमण्डप–गान्सु हेङतोङ जेभीका रूपमा काम गर्ने आयोजनाको भनाइ छ ।
यस्तै, कुमार श्रेष्ठ निर्माण सेवा प्रालिसँग अल्टिनोक कन्सल्टिङ इन्जिनियरिङ इन्क र भागेश्वर कन्स्ट्रक्सन प्रालि मिलेर केएसएनएस–अल्टिनोक–बीसीपीएल जेभीले मिलेर आवेदन दिएका छन् ।
ब्राइट बुल निर्माण सेवासँग सान्सी रोड एन्ड ब्रिज ग्रुप कर्पोरेसन लिमिटेड मिलेर एसएक्सआरबी–ब्राइट बुल जेभीले आवेदन दिएका छन् ।
यस्तै, दान्फे कन्स्ट्रक्सन कम्पनी प्रालिसँग जियाङसी तियानफेङ कन्स्ट्रक्सन ग्रुप कम्पनी लिमिटेड मिलेर जेटीसीजी–डाँफे जेभीले आवेदन दिएको उनले जानकारी दिए ।
बावरी कन्स्ट्रक्सन प्रालिसँग विदेशी कम्पनी टनलटेक सोलुसन्स प्राइभेट लिमिटेड मिलेर बावरी कन्स्ट्रक्सन–टनलटेक सोलुसन्स जेभीका रूपमा आवेदन दिएको बुझिएको छ ।
पशुपति शिवाजी कन्स्ट्रक्सन प्रालिसँग एल्सामेक्स मर्मत सेवा लिमिटेड मिलेर ईएमएसएल–पीएससीपीएल जेभीका रुपमा काम गर्ने तथा समानान्तर निर्माण सेवा प्रालिसँग चाइना फस्र्ट हाइवे इन्जिनियरिङ कम्पनी लिमिटेड मिलेर समानान्तर–सीएफएचईसी जेभीका रुपमा काम गर्नेछ ।
यसैगरी, नेपाली कम्पनी एआरटी कन्स्ट्रक्सन प्रालिसँग चोङछिङ युजिन रोड एन्ड ब्रिज डेभलपमेन्ट कम्पनी लिमिटेड मिलेर युजिन–एआरटी जेभीका रुपमा काम गर्नेछ ।
वेदान्शी इन्फ्रास्ट्रक्चर लिमिटेडसँग विदेशी कम्पनी रांकेन रेलवे कन्स्ट्रक्सन ग्रुप कम्पनी लिमिटेड मिलेर वेदान्शी–रांकेन जेभीका रुपमा काम गर्ने आयोजनाका सूचना अधिकारी पन्थीले जानकारी दिए ।
हाल यी कम्पनीहरूको प्राविधिक मूल्याङ्कन भइरहेको छ । मापदण्डअनुसार यो सुरुङमार्ग सञ्चालनको ठेक्का पाउने कम्पनीले कम्तीमा ३ वर्ष करिब १६०० मिटर लामो सुरुङमार्ग सञ्चालन गरेको अनुभव र सुरुङमार्ग विज्ञहरूको टिम भएका कम्पनीलाई मात्र प्राथमिकता दिइने आयोजनाले जनाएको छ ।
सुरुङमार्गभित्रको सुरक्षालाई उच्च प्राथमिकता दिइएको छ । मुख्य सुरुङमार्गको समानान्तरमा इभाकुएसन (आपतकालीन) सुरुङ निर्माण गरिएको छ, जसमा ७ वटा ढोकाहरू रहेका छन् । सुरुङ भित्र प्रत्येक ५० मिटरमा फायर हाइड्रन्ट (आगो निभाउने संयन्त्र) जडान गरिएको छ ।
अत्याधुनिक भेन्टिलेसन र २४सै घण्टा निगरानीका लागि सीसीटीभी क्यामेराहरू राखिएका छन् । हावाको गुणस्तर र दृश्यता मापनका लागि विशेष सेन्सरहरू जडान गरिएका छन्, जसको नियन्त्रण कक्षबाट निरन्तर अनुगमन हुनेछ ।
सुरुङमार्गभित्रको सुरक्षा र हावाको गुणस्तर कायम राख्न मोटरसाइकललाई प्रवेश निषेध गरिनेछ । यात्रुहरूले सुरुङ प्रयोग गरेबापत निश्चित टोल दस्तुर तिर्नुपर्नेछ । दस्तुर भुक्तानीका लागि नगदका साथै गाडीमा स्टिकर टाँसेर स्वचालित रूपमा पैसा काटिने आरएफआईडी प्रविधि पनि प्रयोगमा ल्याइनेछ ।
सञ्चालनका लागि चिटिक्क बन्यो देशकै पहिलो सुरुङमार्ग {भिडियो स्टोरी}