भरतपुर​​​​​​​ विमानस्थलमै इन्धन सेवा सुरु, दैनिक ८ वटा उडान

काठमाडौं । चितवनको भरतपुर विमानस्थलमा इन्धन सेवा सुरु गरिएको छ । नेपाल आयल निगम लिमिटेडले बुधबारदेखि  इन्धन ‘रिफिलिङ’सेवा सुरु गरेको हो ।

निगमका कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्टले भरतपुरमा हवाई यात्रा गर्ने सवारीको चाप बढेसँगै रिफिलिङ काउन्टर सञ्चालनमा ल्याइएको बताए । हवाई इन्धनका कारण यात्रुलाई असुविधा नहोस् भनेर सेवा सुरु गरिएको उनको भनाइ छ ।

हाल भरतपुरबाट दैनिक ८ वटा उडान हुँदै आएको बताउँदै उनले आवश्यकता अनुसार हवाई इन्धन भर्न सक्ने गरी व्यवस्था मिलाइएको जानकारी दिए । 

निगमका प्रवक्ता मनोजकुमार ठाकुरका अनुसार भरतपुरमा दुइवटा रिफिलिङ काउण्टर स्थापना गरिएको छ, जहाँबाट दैनिक २२ हजार लिटर हवाई इन्धन उपलब्ध गराउन सकिने छ । हाललाई निगमको सिनामङ्गल कार्यालयमा रहेका ६ जना कर्मचारीमार्फत सेवा सुरु गरिएको उनको भनाइ छ । 

भरतपुरबाट हाल दैनिक भरतपुर-काठमाडौं-भरतपुर र आंशिक रूपमा भरतपुर-पोखरा-भरतपुर उडान हुँदै आएको छ । बुद्ध एयरका स्टेसन म्यानेजर भक्तबहादुर बस्नेतले रिफिल काउण्टर स्थापना भएसँगै यात्रु तथा जहाजलाई सहज भएको बताए । 

‘अब जहाजले तेल बोकेर आउनुपर्ने समस्या हुने छैन, जसका कारण काठमाडौंबाट आउने जहाजमा थप यात्रु ल्याउन पाइने छ,’ उनले भने । 

Share News