काठमाडौं । गोकर्ण विष्ट यतिबेला गुल्मी क्षेत्र नम्बर–२ का गाउँ–गाउँ, टोल–टोल र घर–घर पुगेर मतदातासँग प्रत्यक्ष संवादमा व्यस्त छन् । उनी भीडभाडयुक्त सभाभन्दा साना समूहमा बसेर स्थानीयको गुनासा, सुझाव र अपेक्षा सुन्नेमा केन्द्रित देखिन्छन् ।
विष्ट नेकपा (एमाले)का तर्फबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार हुन् ।
गुल्मी–२ का ग्रामीण बस्तीहरूमा पुग्दा विष्टलाई कहिले किसानसँग खेतको डिलमा, कहिले आँगनमा चिया पिउँदै छलफल गर्दै, त कहिले युवासँग चौतारीमा बस्दै गरेको दृश्यमा देख्न सकिन्छ ।
विष्टका अनुसार चुनाव जित्नका लागि मात्रै नभई दीर्घकालीन योजना बनाउन जनताको प्रत्यक्ष धारणा बुझ्नु आवश्यक छ ।
‘म बोल्नभन्दा बढी सुन्न आएको छु । जनताको आवाजलाई नीति र कार्यक्रमसँग जोड्न सके मात्रै प्रतिनिधित्व सार्थक हुन्छ,’ उनले भने ।
स्थानीय तहमा खानेपानी, सडक स्तरोन्नति, कृषि उत्पादनको बजारीकरण, युवा रोजगारी र स्वास्थ्य सेवाका विषय बढी उठ्ने गरेको उनले बताए । साना समूहमा भएको छलफलले मतदातालाई आफ्ना समस्या खुलेर राख्न सहज भएको स्थानीयहरूको भनाइ छ ।
विष्टले चुनावी भाषणलाई संक्षिप्त राख्दै प्रश्न–उत्तर शैली अपनाएका छन् । उनी आफ्ना विगतका काम, संसदीय अनुभव र आगामी योजनाबारे जानकारी दिँदै स्थानीयका जिज्ञासाको जवाफ दिने गर्छन् ।
गुल्मी–२ मा विकास निर्माणका अधुरा योजनालाई पूरा गर्ने, कृषि क्षेत्रमा आधुनिकीकरण र साना उद्योग प्रवद्र्धनमा जोड दिने उनको प्रतिबद्धता छ । साथै संघीय सरकारसँग समन्वय गरेर पूर्वाधार विस्तारलाई तीव्रता दिने योजना पनि उनले सार्वजनिक गरेका छन् ।
स्थानीय नरेश भण्डारीका अनुसार पछिल्लो समय मतदाता ठूला नाराभन्दा व्यवहारिक योजना र प्रत्यक्ष पहुँच खोजिरहेका छन् । यस्तो अवस्थामा विष्टको सुन्दै–सुनाउँदै अभियानले सकारात्मक सन्देश दिन सक्ने भण्डारीको आँकलन छ ।
चुनावी अभियानमा युवाको सहभागिता बढाउन विष्टले सामाजिक सञ्जाल र प्रत्यक्ष अन्तरक्रियालाई सँगसँगै अघि बढाएका छन् । उनले युवालाई स्वदेशमै रोजगारी सिर्जना, सीप विकास तालिम र उद्यमशीलतामा सहजीकरण गर्ने विषयमा आश्वस्त पार्दै आएका छन् ।
स्थानीय बासिन्दा समेत रहेका विकास पाण्डेका अनुसार उम्मेदवार आफै घरदैलोमा आउँदा र ध्यान दिएर कुरा सुन्दा मतदातामा विश्वास बढ्ने गरेको छ ।
गुल्मी क्षेत्र नम्बर–२ मा यसपटक प्रतिस्पर्धा रोचक देखिए पनि विष्टले भने आफ्नो अभियानलाई जनमत बुझ्ने अवसरका रूपमा लिएको बताएका छन् ।