गौरमा पुनः निषेधाज्ञा जारी

चन्द्रपुर । जिल्ला प्रशासन कार्यालयले गौर नगर क्षेत्रभित्र पुनः निषेधाज्ञा जारी गरेको छ ।  स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) अनुसार  गौर नगरपालिकाको पूर्व मुडबलवा गेट, पश्चिम लालबकैया बाँध, उत्तरमा बम नहर र दक्षिणमा गौर भन्सार कार्यालयभित्र आइतबार  बिहान ८ः३० बजेदेखि पुनः निषेधाज्ञा जारी भएको हो ।

प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले आइतबार बिहान ८ः३० बजेदेखि  अर्को आदेश नभएसम्मका लागि पुनः निषेधाज्ञा जारी गरिएको जानकारी दिए ।  गौर–६ सवगढा गाउँमा शनिबार बिहान दुई समुदायबीच विवाद भएपछि शनिबार १ः०० बजेदेखि आइतबार बिहान ६ः३० बजेसम्मका निषेधाज्ञा जारी गरिएको थियो । ६ः३० बजेदेखि ८: ३० बजेम्म निषेधाज्ञालाई खुकुलो बनाइएको थियो । 

गत बिहीबार राति भएको सामान्य विवादले उग्र रूप लिँदै विभिन्न स्थानमा आगजनी र तोडफोडसम्मको अवस्था सिर्जना भएको थियो । स्थानीय प्रशासनका अनुसार एक विवाह कार्यक्रममा बजाइएको बाजागाजालाई लिएर विवाद सुरु भएको थियो । गत ७ गते राति हिन्दू समुदायको विवाह कार्यक्रममा बाजा बजाइएको विषयलाई लिएर मुस्लिम समुदायसँग विवाद भएको बताइएको छ । मस्जिदमा रात्री प्रार्थना भइरहेका बेला बाजा बजाइएको भन्दै दुवै पक्षबीच भनाभन भएको थियो । 

Share News