काठमाडौं । गरिमा क्यापिटलले फागुन २८ गतेदेखि दोस्रो म्युचुअल फण्ड गरिमा सुवर्ण योजना निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले १ अर्ब रुपैयाँको प्रति इकाई १० रुपैयाँ दरका १० करोड इकाई बिक्री खुला गर्नेछ ।
कम्पनीले कुल इकाईमध्ये पहिलो चरणमा ५० करोड रुपैयाँको ५ करोड इकाई बिक्री खुला गर्नेछ । जसमध्ये ९० लाख इकाई कोष प्रवर्द्धक गरिमा विकास बैंक, ६० लाख इकाई योजना व्यवस्थापक गरिमा क्यापिटल र बाँकी ३ करोड ५० लाख इकाई सर्वसाधारण लगानीकर्तालाई बिक्री गरिने कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार उक्त म्युचुअल फण्ड खुलामुखी योजना भएकोले बाँकी रहेको इकाई सामूहिक लगानी कोष नियमावलीको व्यवस्था बमोजिम योजना व्यवस्थापकले तोकेको वितरणमार्फत निरन्तर खरिदबिक्रीका लागि खुला गरिनेछ ।
कम्पनीको उक्त म्युचुअल फण्डका इकाई खरिदका लागि न्यूनतम १०० इकाईदेखि अधिकतम ५० लाख इकाईसम्म आवेदन दिन सकिनेछ । यस योजनाको इकाईमा चैत २ गतेसम्म आवेदन दिन सकिनेछ । यदि उक्त अवधिमा पूर्ण बिक्री नभएको खण्डमा आवेदन दिने समय चैत १२ गतेसम्म लम्बिनेछ ।
कम्पनीको म्युचुअल फण्ड निष्काशन तथा बिक्री प्रबन्धक गरिमा क्यापिटल क्यापिटल रहेको छ । लगानीकर्ताहरुले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई सीआस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत ऋणपत्रमा आवेदन दिन सक्नेछन् ।