काठमाडौं । डाबर नेपालले सन् २०२५ मा १५ अर्ब ६ करोड २० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ । यो अघिल्लो वर्षको तुलनामा ६.८२ प्रतिशत अर्थात् १ अर्ब १० करोड ३० लाख रुपैयाँ कम हो । सन् २०२४ मा कम्पनीको सञ्चालन आम्दानी १६ अर्ब १६ करोड ५० लाख रुपैयाँ रहेको थियो ।
कम्पनीका अनुसार जुस तथा पेय पदार्थ खण्डमा बढ्दो प्रतिस्पर्धा, वैदेशिक रोजगारीका कारण घट्दो आन्तरिक उपभोग तथा समग्र आर्थिक सुस्तताले घरेलु बिक्रीमा असर पारेको छ ।
अघिल्ला वर्षहरूमा कम्पनीले सन् २०२३ मा १३ अर्ब ६१ करोड ५० लाख रुपैयाँ, सन् २०२२ मा १३ अर्ब १ करोड ८० लाख रुपैयाँ, सन् २०२१ मा १० अर्ब ६९ करोड ५० लाख रुपैयाँ, सन् २०२० मा ८ अर्ब ९ करोड ६० लाख रुपैयाँ, सन् २०१९ मा १० अर्ब २५ करोड ६० लाख रुपैयाँ, सन् २०१८ मा १० अर्ब १ करोड रुपैयाँ र सन् २०१७ मा ९ अर्ब ९३ करोड ७० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो ।
कम्पनीको पीबिआइएलडीटी मार्जिन घटेर १५.८६ प्रतिशतमा झरेको छ, जसको मुख्य कारण उच्च छुट (डिस्काउन्ट) खर्च रहेको जनाइएको छ । यद्यपि यो मार्जिन कम्पनीको ऐतिहासिक १३-१४ प्रतिशतको दायराभन्दा माथि नै रहेको छ । ब्याज खर्च पनि अघिल्लो वर्षको तुलनामा घटेको छ, जसमा कार्यशील पुँजी उपयोग कम हुनु र ब्याजदरमा आएको गिरावटले सहयोग पुगेको छ । गत वर्ष ग्रस क्यास एक्रुअल २ अर्ब २४ करोड रुपैयाँ रहेको छ, जुन अघिल्लो वर्ष २ अर्ब ५४ करोड रुपैयाँ थियो ।
सन् १९८९ मा स्थापना भई सन् १९९२ देखि उत्पादन सुरु गरेको डाबर नेपाल देशकै अग्रणी उपभोक्ता वस्तु उत्पादक तथा निर्यातकर्तामध्ये एक हो । यो भारतको बहुराष्ट्रिय कम्पनी डाबर इण्डिया लिमिटेडको स्टेप-डाउन सहायक कम्पनी हो । डाबर इण्डियाले आफ्नो पूर्ण स्वामित्वमा रहेको डाबर इन्टरनेशनल लिमिटेडमार्फत डाबर नेपालमा ९७.५० प्रतिशत सेयर स्वामित्व कायम राखेको छ ।
डाबर नेपालले जुस तथा पेय पदार्थ, च्यवनप्राश, ग्लुकोज, टूथपेस्ट, कपाल तेल, हाजमोला, महलगायतका उपभोक्ता वस्तु उत्पादन गर्दै आएको छ। कम्पनीसँग देशभर ३०० भन्दा बढी वितरक छन्, जसमार्फत करिब १ लाख खुद्रा बिक्री केन्द्रसम्म उत्पादन पुग्ने गरेका छन् ।
कम्पनीको व्यवसाय मुख्यतः खाद्य तथा पेय पदार्थ खण्डमा केन्द्रित छ, जसले कुल आम्दानीको करिब ७० प्रतिशत हिस्सा ओगट्ने गरेको छ । गत वर्ष कुल आम्दानीमध्ये करिब ६४ प्रतिशत हिस्सा निर्यातबाट आएको कम्पनीले जनाएको छ । डाबर नेपालले नेपालको कुल निर्यातमा ३.७१ प्रतिशत योगदान गरेको दाबी गरेको छ । निर्यात व्यवसाय र उल्लेखनीय योगदानका आधारमा कम्पनीले विगतमा विभिन्न सरकारी निकायबाट ‘उत्कृष्ट निर्यातकर्ता करदाता’, ‘व्यावसायिक रूपमा महत्वपूर्ण व्यक्ति’ लगायतका सम्मान तथा पुरस्कार प्राप्त गरेको जनाएको छ ।
कम्पनीका डाबर, रियल, हाजमोला र वाटिका ब्रान्डहरू स्थानीय तथा अन्तर्राष्ट्रिय बजारमा परिचित छन् । ‘रियल’ ब्रान्डअन्तर्गत करिब ४० भेरियन्टमा जुस उत्पादन हुँदै आएको छ ।
सन् १८८४ मा स्थापना भएको डाबर इण्डिया भारतका अग्रणी फास्ट-मुभिङ कन्ज्युमर गुड्स उत्पादकमध्ये एक हो । कम्पनीले मार्च २०२५ सम्ममा १२५ अर्ब भारतीय रुपैयाँभन्दा बढी सञ्चालन आम्दानी गरेको थियो भने फेब्रुअरी २०२६ सम्म यसको बजार पुँजीकरण करिब ८८३ अर्ब भारतीय रुपैयाँ रहेको उल्लेख छ ।
डाबर इण्डियाले स्वास्थ्य, व्यक्तिगत स्याहार तथा खाद्य पदार्थ क्षेत्रमा २५० भन्दा बढी हर्बल÷आयुर्वेदिक उत्पादनको पोर्टफोलियोसहित व्यवसाय सञ्चालन गर्दै आएको छ । कम्पनीका उत्पादनहरू विश्वका १२० भन्दा बढी देशमा उपलब्ध छन्, जसले यसको अन्तर्राष्ट्रिय उपस्थिति बलियो रहेको देखाउँछ । डाबर नेपालको मजबुतीमा डाबर इण्डियाको अनुभव र विशेषज्ञताको महत्वपूर्ण भूमिका रहेको छ ।
कम्पनीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट करिब ६ अर्ब ६० करोड रुपैयाँ ऋण लिएको जनाएको छ । साथै, कच्चा पदार्थको मूल्यमा उतारचढाव, ब्याजदरको अस्थिरता, कडा प्रतिस्पर्धा तथा नियामकीय जोखिमले व्यवसायमा असर पार्न सक्ने कम्पनीले जनाएको छ ।