उद्योगी व्यवसायीलाई पनि लाग्यो चुनाव, ढकालको नेतृत्वमा प्यानल घोषणा

को-को छन् प्यानलमा ?

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्वका लागि  उम्मेदवारी भएको छ । महासंघको ६०औं वार्षिक साधारणसभाबाट नयाँ टिमका लागि वर्तमान वस्तुगत उपाध्यक्ष हेमराज ढकाल नेतृत्वमा नयाँ टिम घोषणा भएको हो । ढकालले प्रस्तावित वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् । 

उनकाे समूहबाट ज्योत्सना श्रेष्ठ एसोसिएट उपाध्यक्षकी उम्मेदवार बनेकी छन् । उनी ज्वेलर्स व्यवसायी तथा हाल महासंघको एसोसिएट उपाध्यक्षकै रुपमा काम गरिरहेकी छन् । 

यस्तै, उमेश डालमिया र कल्पना गैरे  जिल्ला नगर उपाध्यक्षका उम्मेदवार बनेका छन् ।  

यसैगरी, नरेशलाल श्रेष्ठ वस्तुगत उपाध्यक्षका उम्मेदवार बनेका छन् । उनी हस्तकला र निर्यात व्यवसायीका साथै ऊर्जा, हस्पिटालिटी र स्वास्थ्य क्षेत्रमा पनि उनको लगानी छ । उनीसँग दुई कार्यकाल कार्यसमितिको अनुभव समेत छ । 

कल्पना श्रेष्ठ महिला उपाध्यक्षकी उम्मेदवार बनेकी छन् भने उनीसँग पनि तीन कार्यकाल महासंघको कार्यसमिति सदस्यको काम गरेकाे अनुभव छ ।  

यस्तै, महिला उपाध्यक्ष पदका उम्मेदार कमला श्रेष्ठले २०३६ सालबाट १० हजार लगानी गरेर एक महिनामा ८० रुपैयाँ कमाउनेदेखि अहिले लाखौंलाई रोजगारी दिने क्षेत्र सौन्दर्य बनेको बताइन् ।

‘ससुराले पानी नचल्ने काम गरिस् भन्ने आक्षेप लगाएको गुनासो सुनाउँदै उनले भनिन्,’ ‘महासंघमा तीन कार्यकाल काम गरेर पनि महिला उद्यमी विकासमा उल्लेखनीय काम गरेकी छु ।’

वस्तुगत उपाध्यक्षका उम्मेदवार नरेशलाल श्रेष्ठले हस्तकला, उर्जा, हस्पिटालिटी र स्वास्थ्य क्षेत्रबाट प्राप्त गरेको अनुभव महासंघमा बसेर काम गर्ने बताए । उनले मतदातालाई साथ दिएर काम गर्ने अवसर दिन पनि आग्रह गरे । 

यस्तै, जिल्ला/नगर उपाध्यक्षका उम्मेदवार कल्पना गैरेले पदले प्रतिष्ठा भन्दा पनि जिम्मेवारी भएको बताउँदै आफू जिल्ला नगरको आवाज बन्न उम्मेदार बनेको बताइन् ।

उनले आफू जिल्ला नगरको उपाध्यक्ष बनेको खण्डमा व्यवसायीको समस्या सम्बोधनमा अग्रसर हुने बताइन् । उनले नेतृत्व क्षमता भएकै कारण उपाध्यक्षको उम्मेदवार बनेको सुनाउँदै पारदर्शिता, उत्तरदायित्व र जिम्मेवारीका साथ काम गर्ने बताइन् ।

यस्तै, जिल्ला/नगर उपाध्यक्षका उम्मेदवार उमेश डालमियाले पनि जिल्ला नगरका व्यवसायीको समस्या समाधानका लागि आफुले धेरै काम गरेको सुनाए । आगामी दिनमा पनि थप काम गर्ने बताए । 

एसोसिएट उपाध्यक्षका उम्मेदवार ज्योत्सना श्रेष्ठले अब बलियो आवाज उठाएर बोल्नु पर्ने र काम गरेर देखाउनु पर्ने बताइन् । आफूले  वर्तमान कार्यसमितिमा रहेर महत्वपूर्ण काम गरेको सुनाउँदै अब थप काम गर्नका लागि मतदान गरेर सहयोग गर्न उद्योगी व्यवसायीलाई आग्रह गरिन् । 

'विदेशमा पनि नेपाली निजी क्षेत्रको आवाज उठाएँ, महिलासँगै समग्र उद्योगी व्यवसायीको आवाज बनें,’ उनले भनिन्, ’प्रणालीमा देखिएको ग्याप न्यूनीकरण गर्न र समस्या समाधान गर्न अगाडि बढेकी छु, निजी क्षेत्रको एकीकृत आवाज बन्नेछु ।’ 


यस्तै, वरिष्ठ उपाध्यक्षका उम्मेदवार हेमराज ढकालले उद्योगी तथा व्यवसायीहरुका समस्याहरु समाधानका लागि आवाज बुलन्द गर्ने बताए । 

उनले सबै उद्योगीहरु सशसक्त भई एकवद्ध भएर अगाडि बढ्नुपर्नेमा जोड दिए । उनले सबै उद्योगी व्यवसायीहरुलाई मिलाएर जाने समेत प्रतिवद्धता जनाए । 

उनले भने,‘ अर्को समुहले पनि उमेद्वारी गर्ने सुन्नमा आएको छ । म सबै व्यवसायी तथा उद्योगी साथीहरुलाई अनुरोध गर्न चाहन्छु ।' 

Share News