काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को ७ महिना (साउन–माघ)सम्ममा निर्जीवन बीमा कम्पनीहरूले २७ अर्बभन्दा बढी व्यवसाय आर्जन गर्न सफल भएका छन् ।
नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको ७ महिनाको तथ्यांकअनुसार सञ्चालनमा रहेका १४ वटा निर्जीवन बीमा कम्पनीहरूले १६ लाख ५६ हजार ३३६ बीमालेख जारी गरेर २७ अर्ब ५३ करोड ८४ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन् । जुन गत आवको तुलनामा १३.४५ प्रतिशतले वृद्धि भएको छ ।
गत आवको सोही अवधिमा बीमा कम्पनीहरूले १६ लाख २१ हजार ६७९ वटा बीमालेख जारी गरेर २४ अर्ब २७ करोड ४१ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका थिए । बीमा कम्पनीहरूले माघ महिनामा मात्रै २ लाख ३६ हजार ७८८ बीमालेख जारी गरेर ३ अर्ब ८६ करोड २१ लाख रुपैयाँको व्यवसाय आर्जन गरेका छन् ।
सर्वाधिक व्यापार भित्र्याउनेमा शिखर अगाडि
चालु आवको माघसम्ममा सर्वाधिक व्यापार शिखर इन्स्योरेन्सले भित्र्याएको छ । चालु आर्थिक वर्षको माघसम्म शिखर इन्स्योरेन्सले ३ अर्ब ३२ करोड ४ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो वर्ष माघसम्म कम्पनीले ३ अर्ब १३ करोड २० लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो । अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा कम्पनीको व्यापार ६.०२ प्रतिशतले वृद्धि भएको छ ।
दोस्रो धेरै व्यापार भित्र्याउने कम्पनीमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको) रहेको छ । सलिकोले माघसम्ममा २ अर्ब ९८ करोड ९६ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । जुन अघिल्लो आवको तुलनामा १.७७ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो आवको यही अवधिमा कम्पनीले २ अर्ब ९३ करोड ७६ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो ।
तेस्रो धेरै व्यापार भित्र्याउनेमा हिमालयन एभरेष्ट इन्स्योरेन्स रहेको छ । कम्पनीले अघिल्लो आवको माघसम्ममा १ अर्ब ९२ करोड १८ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेकोमा चालु आवको सोही अवधिमा २ अर्ब ८३ करोड ९३ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । अघिल्लो आवको तुलनामा समीक्षा अवधिमा कम्पनीको व्यवसाय ४७.७४ प्रतिशतले बढेको छ ।
त्यस्तै, माघसम्म सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले २ अर्ब ५१ करोड ४९ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको छ । गत आवको यही अवधिमा कम्पनीले २ अर्ब ४४ करोड ७४ लाख रुपैयाँ संकलन गरेको थियो । गत आवको तुलनामा समीक्षा अवधिमा कम्पनीको व्यवसाय २.७६ प्रतिशतले वृद्धि भएको छ ।
आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले २ अर्ब ३८ करोड ६ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ । गत आवको यही अवधिमा कम्पनीले २ अर्ब २ करोड ६८ लाख रुपैयाँ संकलन गरेको थियो । गत आवको तुलनामा कम्पनीको व्यवसाय १७.४५ प्रतिशतले वृद्धि भएको छ ।
७ महिनाको अवधिमा एनएलजी इन्स्योरेन्सले २ अर्ब १८ करोड ८३ लाख रुपैयाँ, नेको इन्स्योरेन्सले २ अर्ब १५ करोड १५ लाख रुपैयाँ, युनाइटेड अजोड इन्स्योरेन्सले १ अर्ब ७५ करोड ७३ रुपैयाँ, ओरिएन्टल इन्स्योरेन्सले १ अर्ब ६८ करोड ७५ लाख रुपैयाँ र सानिमा जीआईसी इन्स्योरेन्सले १ अर्ब ६० करोड १४ लाख रुपैयाँ, नेपाल इन्स्योरेन्सले १ अर्ब ३४ करोड ४१ लाख रुपैयाँ, प्रभु इन्स्योरेन्सले १ अर्ब ७ करोड ८ लाख रुपैयाँ, राष्ट्रिय बीमा कम्पनीले ८९ करोड २४ लाख रुपैयाँ र नेशनल इन्स्योरेन्सले ७९ करोड ९६ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन् ।
अघिल्लो आवको तुलनामा समीक्षा अवधिमा एनएलजीको ३४.९५ प्रतिशत, नेको इन्स्योरेन्सको १०.३२, युनाइटेड अजोडको २५.३९ प्रतिशत, ओरिएन्टल इन्स्योरेन्सको १०.६४ प्रतिशत,सानिमा जीआईसीको १५.६० प्रतिशत, नेपाल इन्स्योरेन्सको ६.७२ प्रतिशत, प्रभु इन्स्योरेन्सको ३.८८ प्रतिशत र नेसनल इन्स्योरेन्सको १५.३१ प्रतिशत व्यवसाय वृद्धि भएको छ । राष्ट्रिय बीमा कम्पनीको भने ५.१२ प्रतिशतले व्यापार घटेको छ ।