काठमाडौं । अमेरिकी प्रविधि उद्यमी तथा माइक्रोसफ्टका सह–संस्थापक बिल गेट्सले जेफ्री एपस्टीनसँग सम्बन्ध राख्नु ‘ठूलो गल्ती’ भएको स्वीकार गरेका छन् । तर उनले आफू एपस्टीनका आपराधिक गतिविधिमा संलग्न नरहेको स्पष्ट पारेका छन् ।
मंगलबार गेट्स फाउन्डेसनका कर्मचारीहरूसँग आयोजित ‘टाउन हल’ कार्यक्रममा उनले एपस्टीनसँगको सम्बन्धका कारण संस्थाको काममा असर परेकोप्रति खेद व्यक्त गरेका हुन् । वाल स्ट्रिट जर्नलका अनुसार गेट्सले उक्त कार्यक्रममा आफूले गरेको गल्तीका लागि माफी समेत मागेका थिए ।
‘एपस्टीनसँग समय बिताउनु ठूलो गल्ती थियो । फाउन्डेसनका अधिकारीहरूलाई पनि उहाँसँगको बैठकमा सहभागी गराउनु गलत थियो,’ गेट्सले भने । उनले आफूले गरेको निर्णयका कारण असहज अवस्थामा परेका व्यक्तिसँग माफी मागेको बताए ।
अमेरिकी न्याय विभागले सार्वजनिक गरेका केही कागजातहरूमा गेट्सको नाम पनि उल्लेख छ । एक मस्यौदा इमेलमा एपस्टीनले गेट्ससँग विवाहेत्तर सम्बन्ध र अन्य व्यक्तिगत विषय जोडिएको दाबी गरेको उल्लेख छ । तर गेट्सले कुनै पनि अवैध गतिविधिमा संलग्नता अस्वीकार गरेका छन् ।
टाउन हल कार्यक्रममा ७० वर्षीय गेट्सले दुई रूसी महिलासँग आफ्नो सम्पर्क रहेको स्वीकार गरेका थिए । एकजना ब्रिज खेलाडी र अर्की रूसी परमाणु भौतिकशास्त्रीसँग व्यावसायिक वा सामाजिक कार्यक्रमका क्रममा भेट भएको उनले बताएका छन् ।
एपस्टीनमाथि नाबालिग केटीहरूको यौन तस्करीको आरोप लागेको थियो । सन् २०१९ मा मुद्दा चलिरहेको अवस्थामा न्यूयोर्कस्थित जेलमा उनको मृत्यु भएको थियो ।
गेट्सले आफूले कुनै अवैध कार्य नगरेको र एपस्टीनका पीडितहरूसँग कुनै सम्बन्ध नरहेको बताएका छन् । ‘मैले कुनै अवैध काम गरेको थिइनँ र त्यस्तो गतिविधिबारे जानकारी पनि थिएन,’ उनले भने ।
उनका अनुसार एपस्टीनसँगको सम्बन्ध सन् २०११ मा सुरु भएको थियो, जुन समयसम्म एपस्टीनले नाबालिगसँग सम्बन्ध राखेको अभियोगमा सजाय भोगिसकेका थिए । एपस्टीनमाथि यात्रा प्रतिबन्ध लागेको विषय थाहा भए पनि आफूले पृष्ठभूमि जाँच नगरेको गेट्सले स्वीकार गरेका छन् ।
उनकी तत्कालीन पत्नी मेलिन्डा गेट्सले सन् २०१३ मै एपस्टीनबारे चिन्ता व्यक्त गरे पनि गेट्सले केही समयसम्म सम्बन्ध कायम राखेको बताएका छन् ।
गेट्स फाउन्डेसनले भनेको छ कि टाउन हल कार्यक्रममा गेट्सले एपस्टीनसम्बन्धी प्रश्नहरूको विस्तृत जवाफ दिएका थिए र आफ्ना कार्यप्रति जिम्मेवारी स्वीकार गरेका थिए ।