गगन थापाको आरोप– ओली र बालेन ‘दुवै अतिवादी’

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले भदौ अन्तिम साताको जेनजी आन्दोलनको सन्दर्भमा मुलुकमा दुई अतिवादी सोच देखापरेको टिप्पणी गरेका छन् ।

बिहीवार (आज) सुर्खेतमा आयोजित पार्टीको चुनावी सभालाई सम्बोधन गर्दै थापाले यस्तो टिप्पणी गरेका हुन् । 

उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र साहलाई लक्षित गर्दै जेनजी आन्दोलनलाई स्वीकार नगर्ने र आन्दोलनको जगमा राजनीतिक स्वार्थको रोटी सेक्ने प्रवृत्ति मुलुकमा देखा परेको भन्दै दुवै अतिवादी सोच भएको बताए ।

यस्ता सोचले पुनः दुर्घटना निम्त्याउन सक्ने चेतावनी दिँदै सभापति थापाले दुवै अतिवादी धारसँग नेपाली कांग्रेस असहमत रहेको स्पष्ट पारे । 

उनले अब सरकारको गोलीबाट कुनै पनि निहत्था नागरिकले ज्यान गुमाउन नपर्ने वातावरण सिर्जना गर्नुपर्ने पनि बताए ।

उनले अब कुनैपनि मुकुण्डोधारीले सिंहदरबार जलाउन नसक्ने दाबी पनि गरे ।

Share News