काठमाडौं । बेलायती विलासी कार निर्माता एस्टन मार्टिनले अमेरिकी आयात शुल्क र चीनमा कमजोर मागको प्रभावबाट उकासिने प्रयासस्वरूप आफ्नो कार्यबल २० प्रतिशतसम्म घटाउने भएको छ ।
कम्पनीले बुधबार दिएको जानकारीअनुसार करिब ३ हजार कर्मचारी रहेको कुल कार्यबलबाट गरिने यो कटौतीले वार्षिक रूपमा करिब ४० मिलियन पाउन्ड (झन्डै ५४ मिलियन डलर) बचत गराउने अपेक्षा गरिएको छ ।
कम्पनीले रोजगारी कटौती कहिले लागू गरिने भन्ने स्पष्ट पारेको छैन, तर अधिकांश बचत चालु वर्षमै देखिने जनाएको छ । यो कटौतीमा गत वर्ष घोषणा गरिएको ५ प्रतिशत कमी पनि समावेश छ ।
एस्टन मार्टिनले विद्युतीय सवारी साधन प्रविधिमा लगानी ढिलाइ गर्दै पाँच वर्षे पुँजीगत खर्च योजना २ अर्ब पाउन्डबाट घटाएर १.७ अर्ब पाउन्डमा झारेको छ ।
प्रारम्भिक कारोबारमा लगातार नौ सत्रको गिरावटपछि एस्टन मार्टिनका सेयर झन्डै ५ प्रतिशतले बढेका छन् ।
जेम्स बण्डले चलाउने कार ब्रान्डका रूपमा परिचित एस्टन मार्टिन नगद प्रवाह सुदृढ गर्न र १.३८ अर्ब पाउन्ड ऋण व्यवस्थापन गर्न संघर्षरत रहेको छ । यद्यपि क्यानाडाली अर्बपति तथा अध्यक्ष लरेन्स स्ट्रोलबाट पूँजी प्रवाह र विभिन्न सम्झौतामार्फत कम्पनीले सहयोग पाउँदै आएको छ ।
कम्पनीका अनुसार अमेरिकी शुल्क ‘अत्यन्त विघटनकारी’ साबित भएका छन् भने विश्वकै सबैभन्दा ठूलो अटो बजार चीनमा माग ‘निक्कै सुस्त’ रहेको छ ।
एस्टन मार्टिनले २०२६ मा थप नगद बहिर्गमन हुने अपेक्षा गरे पनि वित्तीय प्रदर्शनमा ‘उल्लेखनीय सुधार’ आउने प्रक्षेपण गरेको छ ।
कम्पनीले उच्च ३० प्रतिशत दायरामा ग्रस मार्जिन र समायोजित ब्याज तथा करअघिको आम्दानी (ईबीआईटी) ब्रेक–इभन नजिक पुर्याउने लक्ष्य राखेको छ, जसमा नयाँ भलहला हाइब्रिड सुपरकारका करिब ५०० डेलिभरीले टेवा दिने अपेक्षा गरिएको छ ।
कम्पनीले २०२५ मा २५९.२ मिलियन पाउन्ड सञ्चालन घाटा बेहोरेको जनाएको छ ।
वित्तीय सुधार प्रयासअन्तर्गत कम्पनीले गत साता आफ्नो एस्टन मार्टिन फर्मुला वन टीमको स्थायी ब्रान्डिङ अधिकार ५० मिलियन पाउन्डमा बिक्री गर्ने सम्झौता गरेको छ ।