काठमाडौं । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने २ उम्मेदवारलाई कारवाही गर्ने निर्णय गरेको छ ।
केन्द्रीय निर्वाचन आचारसंहिता तथा अनुगमन समितिले नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार शक्तिबहादुर बस्नेत र स्वतन्त्र उम्मेदवार डा. निकोलस भुसाललाई आचारसंहिता उल्लङ्घन गरेको भन्दै २५ हजार रुपैया जरिवाना गर्ने निर्णय गरेको हो ।
त्यसैगरी, श्रम शक्ति नामको राजनीतिक दललाई पनि २५ हजार रुपैया जरिवाना गर्ने निर्णय गरेको छ ।
केन्द्रीय निर्वाचन आचारसंहिता तथा अनुगमन समितिका संयोजक समेत रहेका निर्वाचन आयुक्त सगुन समशेर जबराले दुई जना प्रतिनिधि सभा सदस्य उम्मेदवार र एक राजनीतिक दललाई कारवाही गरिएको जानकारी दिए ।
आचारसंहिता उल्लङ्घन गरेको सम्बन्धमा सोधेको स्पष्टिकरण चित्तबुझ्दो नभएपछि आयोगले कारवाहीस्वरूप २५ हजार रुपैया जरिवाना तिराउने निर्णय गरेको हो ।
आयोगमा मुलुकभर ३ सय बढी आचारसंहिता उल्लङ्घनका उजुरी परेका छन् । उनले निर्वाचन आयोगमार्फत ८२ जनालाई स्पष्टिकरण सोधिएको जानकारी दिए ।
तीमध्ये ५७ जनाबाट जवाफ प्राप्त भएको तथा ६ जना उम्मेदवारलाई पुनः स्पष्टिकरण सोधिएको पनि जबराले जानकारी दिए ।
निर्वाचन आचारसंहिताविपरीत एउटा संस्थानबाट निकालिएका दुईजना कर्मचारीलाई पुनःवहाली गर्न समेत आयोगले निर्देशन दिएको छ । आयोगले सञ्चार गृह तथा सञ्चारकर्मीबाट भएको आचारसंहिता उल्लङ्घनमा कारवाही गर्न प्रेस काउन्सिल नेपाललाई पत्राचार गरेको छ ।
आयुक्त जबराले केही दिन भित्र काउन्सिलले त्यस्ता उजुरी उपर कारवाही आयोग आफै पनि सक्रिय हुनसक्ने चेतावनीसमेत दिए ।