बुटवल । नेपाल कांग्रेसका सभापति गगनकुमार थापाले सबैलाई मिलाएर अगाडि जाने तागत कांग्रेसमा मात्र रहेको बताएका छन् ।
शुक्रबार बुटवलमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै सभापति थापाले आफ्नो पार्टीभित्रको आन्तरिक विवाद मात्र होइन, राष्ट्रिय मुद्दामा अन्य दललाई समेत मिलाएर अगाडि बढ्ने तागत रहेको बताएका हुन् ।
उनले यही कारणले पनि कांग्रेसलाई भोट नहाल्ने कुनै कारण नभएको बताए । उनले उम्मेदवारसँगै कांग्रेस नेता कार्यकर्ताहरूलाई निर्देशन दिँदै भने, ‘कांग्रेसलाई भोट नहाल्ने कुनै कारण छैन, घर घरमा गएर रुखमा मतदान गरेर कांग्रेसलाई जिताऔं भनेर आग्रह गर्नूहोस् ।’
सभापति थापाले अगाडि भने, ‘किसानका खेतमा मल पुर्याउनेदेखि पहाडका बाँदर धपाउनेसम्म टिम बनाएर अध्ययन गरेर जनताका माझ मत माग्न आएको हुँ । सामाजिक सञ्जालमा अड्केर नबस्नुहोस् घर–घरमा जानुहोस् हाम्रो बारेमा सबै कुरा गर्नूहोस् ।’
यो क्षेत्रका उम्मेदवारका लागि आफूले मेहनत गरेर केही नहुने भन्दै सभापति थापाले भने, ‘यस क्षेत्रका उम्मेदवार सबैलाई आ–आफ्नो क्षेत्रमा दिनरात मेहनत गरेका छन् । उम्मेदवारले मेहनत गरेर म गगन थापा भएर तपाईंसँग भोट माग्न आग्रह गरेको छ । पाँच वर्षलाई रूखलाई भोट दिनूहोस् देश हामी बनाउँछौं ।’
उनले पार्टीका नेता–कार्यकर्ताहरूलाई सामाजिक सञ्जालमा मात्र अड्केर नबस्न आग्रह गरे ।
सभापति थापाले भने, ‘पार्टीका तमाम साथीहरूलाई मेरो आग्रह छ– केही दिनमात्र बाँकी छ । नअलमलिनूस् कोही पनि साथीहरू । घर–घरमा जानूस् । तपाईंहरू सामाजिक सञ्जालमा आफ्नो कुरा राख्नूस् । तर, सामाजिक सञ्जालमा मात्र अड्केर नबस्नूस् ।’
सभापति थापाले कांग्रेसको सबैभन्दा ठूलो शक्ति संगठन भएको भन्दै नेता –कार्यकर्ताहरूलाई चुनाव प्रचार–प्रसारका लागि घर–घर जान, नवयुवाका कुरा सुन्न पनि आग्रह गरे ।
‘हाम्रो सबैभन्दा ठूलो ताकत भनेको संगठनको ताकत हो । तपाईंको गोडा चलाउनुस्, घर–घर पुग्नूस् । तपाईंको हात चलाउनूस्, गएर ढोग्नूस्,’ उनले भने, ‘तपाईंको मुख चलाउनूस्, गएर संवाद चलाउनूस् । नौजवानहरूको कुरा सुन्नूस् ।’
थापाले नवयुवासँग कुरा गर्दा सुरुमा उनीहरूले गाली गर्न सक्नेतर्फ पनि स्मरण गराए । उनले पार्टीका नेता–कार्यकर्ताहरूसँग रिसाएका नवयुवालाई पार्टीका बारेमा सम्झाउन पनि आग्रह गरे ।
कांग्रेस विशेष महाधिवेशनबाट विगतका सबै राम्रा कुराहरूलाई बोक्ने र खराब कुरालाई छोड्ने नयाँ संकल्प गरेर आएको कुरा नवयुवालाई बताउन थापाले पार्टीपंक्तिलाई आग्रह गरे ।
‘हिजोका तमाम सबै राम्रा कुराहरूलाई बोक्छु, हिजोका तमाम खराब कुरालाई छोड्छु भनेर एउटा नयाँ संकल्प गरेर आएको छ । यो कांग्रेसले एउटा मौका पाउनुपर्छ,’ उनले भने, ‘यो कांग्रेसले ५ वर्षभित्र परिणाम दिने संकल्प मात्र होइन, एउटा प्रतिज्ञा गरेर आएको छ । यो कांग्रेसले मौका पाउनुपर्छ ।’
सभापति थापाले उत्तेजनाको राजनीतिमा धेरै नबहकिन पनि आग्रह गरेका छन् ।
‘हामी उत्तेजनाको राजनीतिमा धेरै नबहकिऊँ । यो टेलिफोनले धेरैलाई झुक्याएको छ,’ उनले भने, ‘बेलुका घर गएर हेर्दाखेरि तपाईंले हेरेको युट्युवले, तपाईंले हेरेको फेसबुकले धेरैलाई झुक्याएको छ । धेरै भ्रममा नपरौं ।’
सभापति थापाले विभिन्न देशमा छरिएर रहेका नेपाली नागरिकबाट कांग्रेसले सहयोगको अपेक्षा गरेको पनि बताए । ‘संसारभर छरिएर रहेका नेपालीलाई पनि आह्वान गर्छौं– तपाईंहरूको सहयोग चाहिएको छ । तपाई–हामी मिलेर एउटा तागत बनाउनुपर्ने छ,’ उनले भने ।