इजरायल र इरानमा रहेका नेपालीलाई सावधानी अपनाउन परराष्ट्र मन्त्रालयको आग्रह

काठमाडौं ।  नेपाल सरकारले इरान र इजरायलबीचको विकसित घटनाक्रमप्रति चिन्ता व्यक्त गरेको छ । परराष्ट्र मन्त्रालयले शनिबार एक सूचना जारी गर्दै इजरायल र इरानमा रहेका नेपाली नागरिकहरूलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको हो ।

मन्त्रालयका अनुसार त्यहाँ रहेका नेपालीहरूले सम्बन्धित देशका निकायहरूले जारी गरेका सुरक्षा सल्लाह र निर्देशनहरू कडाइका साथ पालना गर्नुपर्नेछ । सकेसम्म घरभित्रै बस्न, अनावश्यक आवतजावत नगर्न, सतर्क रहन र स्थानीय नेपाली समुदायसँग नियमित सम्पर्कमा रहन पनि आग्रह गरिएको छ ।

त्यसैगरी सम्बन्धित निकायहरूको पूर्वअनुमति बिना यात्रा नगर्न र काठमाडौंस्थित परराष्ट्र मन्त्रालय तथा तेल अविव र दोहास्थित नेपाली दूतावाससँग नियमित सम्पर्कमा रहन भनिएको छ ।

इजरायल वा इरान जाने तयारीमा रहेका नेपालीहरूलाई तत्कालका लागि यात्रा स्थगित गर्न मन्त्रालयले कडाइका साथ सुझाव दिएको छ । साथै अन्य मध्यपूर्वी मुलुकमा रहेका नेपालीहरूलाई पनि त्यहाँको अवस्थाबारे निरन्तर जानकारी राख्दै सम्बन्धित देशका सुरक्षा निकायहरूको निर्देशन पालना गर्न मन्त्रालयले आग्रह गरेको छ ।  

Share News