मतदाताले के-के गर्न पाइँदैन ?

काठमाडौं । के तपाईं १८ वर्ष पुग्नुभयो त ? त्यसो भए पक्कै तपाईंको नाम मतदाता नामावलीमा होला । यदि तपाईं मताधिकार प्रयोग गर्न योग्य हुनुहुन्छ भने के(के गर्न हुन्छ भन्नेबारेमा थाहा छ त ?

निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा के-के गर्न हुन्छ/ हुँदैन भनेर सूची सार्वजनिक गरेको छ । 

आयोगका अनुसार मतदान गर्न जाँदा दल वा उम्मेदवारको निर्वाचन चिन्ह वा झण्डा अंकित कपडा, टि-सर्ट, ज्याकेट, गम्छा, टोपी वा क्याप, भेष्ट, लोगो, ब्याच, मास्क, स्टिकर लगाउन वा झोला बोक्न पाइँदैन ।

‘मतदान गर्न जाँदा मतदाताको शरीरको कुनै भागमा बनाइएको उम्मेदवारको फोटो, दल वा उम्मेदवारको निर्वाचन चिन्ह र झण्डा अंकित ट्याटु प्रदर्शन गर्न पाइँदैन, आयोगले भनेको छ । 

मतदातालाई मतदान गर्न जान वा मतदान गर्नबाट वञ्चित गराउने अभिप्रायले झुटा अफवाह, भ्रामक समाचार फैलाउने, कुनै अवरोध गर्ने काम गर्न वा गराउन नहुने आयोगले जनाएको छ । 

कसैको पक्ष वा विपक्षमा एसएमएस, सामाजिक सञ्जाल तथा अन्य विद्युतीय माध्यम प्रयोग गरी तथ्यहीन सामग्री प्रकाशन, प्रसारण वा सम्प्रेषण गर्न नपाइने पनि आयोगले उल्लेख गरेको छ ।

मतदान केन्द्रमा मतदान गर्न जाँदा प्रज्वलनशील ठोस वा तरल पदार्थ, मोबाइल, क्यामरा साथमा लिएर जान नहुने, कुनै नशालु पदार्थ वा मादक पदार्थ सेवन गर्न नपाइनेसमेत आयोगले प्रस्ट पारेको छ ।

Share News