काठमाडौं । फागुन २१ गतेको निर्वाचन आउन अब चार दिनमात्र बाँकी छ । विभिन्न राजनीतिक दलका उम्मेदवारहरूले यतिखेर प्रचारप्रसारलाई तीव्र बनाएका छन् । १८ गते राति बाह्र बजेदेखि मौन अवधि सुरु हुँदैछ ।
निर्वाचन आयोगले मौन अवधिमा निर्वाचन प्रचारप्रसारमा रोक, निर्वाचन लगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा सम्मेलन र कार्यशाला तथा गोष्ठी आदि गर्न नपाइने जनाएको छ ।
त्यस्तै, बाजा बजाउन, नाचगान गर्न, सार्वजनिक भोज भतेर गर्न, जुलुस प्रदर्शन वा जुनसुकै किसिमको सभा वा समारोह गर्न वा हुलहुज्जत तथा होहल्ला गर्न पाइनेछैन ।
त्यस्तै, सामाजिक सञ्जाल, अनलाइन, छापा वा अन्य कुनै पनि माध्यमबाट राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै सन्देश, सूचना वा प्रचारप्रसार सामग्री पोष्ट र सेयर गर्न वा गराउनु नहुने आयोगले उल्लेख गरको छ।
‘निर्वाचन प्रचारप्रसार तथा मत माग्न साउण्ड सिस्टम, एसएमएस, सामाजिक सञ्जाल वा यस्तै अन्य कुनै साधन वा माध्यमको प्रयोग गर्नु हुँदैन,’ आयोगले भनेको छ, ‘मतदान कार्य प्रारम्भ हुनुभन्दा तीन घण्टा अघिदेखि मतदान कार्य समाप्त नभएसम्म कसैले पनि मतदाता वा मतदान केन्द्रमा मतदानको काममा संलग्न व्यक्ति र कर्मचारीलाई बाधा पुर्याउने कार्य गर्नु हुँदैन ।’
राजनीतिक दल तथा उम्मेदवार, दलका भातृ संगठनहरूले सामाजिक सञ्जालमार्फत गरिएका विज्ञापन तथा निर्वाचन प्रचारप्रसारका सामग्री हटाउनुपर्ने आयोगले प्रस्ट पारेको छ ।
त्यस्तै, आयोगले मतदान केन्द्र रहेको घर, भवन, स्थानमा मतदानलाई असर पार्ने गरी त्यसको वरिपरिको कुनै निजी,सार्वजनिक घर, भवन, जग्गामा शान्ति भंग गर्न, भय, त्रास सिर्जना गर्न, निर्वाचनको वातावरण बिथोल्ने कार्य गर्न वा गराउन नपाइने बताएको छ ।
मतदान हुने दिनको ४८ घण्टाअघि मतदान स्थलको तीन सय मिटर वरिपरि राखिएका राजनीतिक दल वा उम्मेदवारका प्रचारप्रसार सामग्री हटाउनुपर्ने आयोगले जनाएको छ।