काठमाडौं । सरकारका मुख्य सचिव सुमनराज अर्यालले अनिच्छा देखाएपछि सोमबार बस्ने तय गरिएको मन्त्रिपरिषद् बैठक अनिश्चित बनेको छ ।
निर्वाचनको पूर्वसन्ध्यामा सरकारले दीर्घकालीन महत्त्वका प्रस्तावहरू अघि बढाउने तयारी गरेको सूचना पाएपछि मुख्यसचिव अर्यालले सकेसम्म निर्वाचन परिणाम सार्वजनिक नहुँदासम्म मन्त्रिपरिषद् बैठक नराख्न सुझाव दिएको स्रोतले जनाएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय स्रोतका अनुसार केही मन्त्रालयहरूले नीतिगत तथा दीर्घकालीन असर पार्ने निर्णयका प्रस्तावहरू क्याबिनेटमा लैजाने तयारी गरेका थिए । ती प्रस्तावहरू निर्वाचन आचारसंहिताको भावना विपरीत हुन सक्ने आशंकासहित मुख्यसचिवले सतर्कता अपनाउन आग्रह गरेको बताइएको छ ।
मतदानको दिन आउन लागेको र मौन अवधि सुरु हुन लागेको अवस्थामा नयाँ नीति, दीर्घकालीन सम्झौता वा ठूलो आर्थिक दायित्व सिर्जना गर्ने निर्णयहरू भए भने मुख्यसचिव जिम्मेवार हुनपर्ने भएकोले अर्याल निर्वाचन पहिले मन्त्रिपरिषद बैठक नहोस् भन्ने पक्षमा रहेका छन् ।
यस्तै, संवेदनशील समयमा बैठक बसेर विवादास्पद निर्णय भए त्यसले निर्वाचनको निष्पक्षतामाथि प्रश्न उठ्न सक्ने भएकोले निजामती प्रशासनको नेतृत्वले भोलिको मन्त्रिपरिषद बैठक नहोस् भन्ने चाहेको छ ।