भिडियो सन्देश जारी गर्दै ओलीले भने– निर्माणको बाटोमा अघि बढ्ने कि भत्काउने कित्ता स्पष्ट पारौं

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देश यतिबेला निर्माण वा विध्वंसमध्ये एक बाटो रोज्ने निर्णायक मोडमा पुगेको बताएका छन् । 

सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको भिडियो सन्देशमा उनले जनतालाई स्पष्ट कित्ता तय गर्न आह्वान गर्दै स्थिरता, सुशासन र विकासको पक्षमा उभिन आग्रह गरेका छन् ।

भिडियो सन्देशमा ओलीले पछिल्ला राजनीतिक घटनाक्रमले मुलुकलाई अन्योल र अस्थिरतामा धकेलेको दाबी गरेका छन् । उनले सरकार परिवर्तनको शृङ्खला, नीतिगत अनिश्चितता र विकास आयोजनामा देखिएको ढिलाइलाई विध्वंसतर्फको संकेत भन्दै आलोचना गरे । 

उनल भने, ‘हामीले बनाएको आधार भत्काउने कि त्यसलाई अझ मजबुत बनाउने ? यही प्रश्नको उत्तर दिनुपर्ने बेला आएको छ ।’ 

ओलीले आफ्नो कार्यकालमा अघि बढाइएका पूर्वाधार तथा राष्ट्रिय गौरवका आयोजनाहरू स्मरण गराउँदै ती कामहरूलाई निरन्तरता दिन आवश्यक रहेको बताएका छन् । 

सडक, पुल, जलविद्युत र सामाजिक सुरक्षाका कार्यक्रमहरूलाई उनले निर्माणको बाटोको उदाहरणका रूपमा प्रस्तुत गरे । ‘विकासका इँटा थप्ने काम सजिलो छैन, तर भत्काउन सजिलो हुन्छ,’ ओलीले आफ्नो सन्देशमा भनेका छन् ।

उनले लोकतान्त्रिक प्रतिस्पर्धालाई सम्मान गर्ने तर अराजकता र निरन्तर अवरोधको राजनीति स्वीकार्य नहुने स्पष्ट पारे । ‘देशलाई स्थायित्व चाहिएको छ । स्थायित्व बिना समृद्धि सम्भव छैन,’ ओलीको भनाइ रहेको छ ।

ओलीले युवापुस्तालाई विशेष सन्देश दिँदै देशभित्रै अवसर सिर्जना गर्ने वातावरण बनाउन आफू प्रतिबद्ध रहेको दाबी गरेका छन् । रोजगारी, उद्यमशीलता र प्रविधिमा लगानी बढाउनुपर्ने उल्लेख गर्दै उनले निर्माणको यात्रामा युवाको साथ अपरिहार्य रहेको बताए ।

त्यस्तै, उनले आसन्न राजनीतिक निर्णयहरू, चाहे निर्वाचन होस् वा नीतिगत बहस सबैमा जनताको भूमिका निर्णायक हुने बताए । 

 

Share News