इरान र इजरायल : मित्रतादेखि कट्टर दुश्मनीसम्म, यस्तो छ नालीबेली

मध्यपूर्वको राजनीतिमा आज इरान र इजरायल एकअर्काको अस्तित्व मेटाउन लागिपरेका देखिन्छन्, इतिहासको पाना पल्टाउँदा अवस्था ठ्याक्कै उल्टो थियो । सन् १९४८ मा इजरायलको स्थापना हुँदा इरान उसलाई मान्यता दिने दोस्रो मुस्लिम राष्ट्र मात्र थिएन, बरु यी दुई देशबीचको सम्बन्ध निकै प्रगाढ र रणनीतिक थियो । 

इरानका तत्कालीन राजा मोहम्मद रेजा शाह पहलवीको शासनकालमा यी दुई राष्ट्रले आर्थिक र सैन्य क्षेत्रमा सहकार्यसमेत गरेका थिए । इरानले इजरायललाई आफ्नो तेल बेच्थ्यो भने बदलामा इजरायली प्रविधि र हतियारले इरानी सेनालाई सुसज्जित बनाइन्थ्यो । त्यतिबेला यी दुवै देशको साझा दुश्मन तत्कालीन सोभियत संघ र अरबका केही राष्ट्रहरू थिए, जसले गर्दा उनीहरूलाई एक-अर्काको साथ अपरिहार्य बनेको थियो ।

तर, सन् १९७९ को इस्लामिक क्रान्तिले यो मैत्रीपूर्ण सम्बन्धलाई एकाएक कट्टर दुश्मनीमा बदलिदियो । अयातोल्लाह खोमेनीको नेतृत्वमा भएको उक्त क्रान्तिले इरानमा राजतन्त्र अन्त्य गरी कट्टरपन्थी इस्लामिक शासन व्यवस्था लागू गर्यो । नयाँ नेतृत्वले इजरायललाई ‘अवैध कब्जाकारी’ र ‘मुस्लिम जगतको दुश्मन’ घोषणा गर्दै उसको अस्तित्व नै स्वीकार्न अस्वीकार गर्यो । इरानले इजरायललाई ‘सानो शैतान’ र उसको मुख्य सहयोगी अमेरिकालाई ‘ठूलो शैतान’ को संज्ञा दियो । इरानले प्यालेस्टाइनको मुद्दालाई आफ्नो मुख्य राजनीतिक एजेन्डा बनायो ताकि उसले सम्पूर्ण मुस्लिम विश्वको नेतृत्व गर्न सकोस् । यहीँबाट इरान र इजरायलबीचको शीतयुद्ध सुरु भएको हो जसले आजसम्म मध्यपूर्वलाई अशान्त बनाइरहेको छ ।

दुश्मनी बढ्दै गएपछि इरानले इजरायललाई प्रत्यक्ष रूपमा चुनौती दिनुको साटो ‘प्रोक्सी वार’ अर्थात् छद्म युद्धको सहारा लियो । इरानले इजरायलको सिमाना नजिक रहेका सशस्त्र समूहहरू जस्तै लेबनानको हिजबुल्लाह र गाजाको हमासलाई भारी आर्थिक र सैन्य सहयोग गर्न थाल्यो । यसको मुख्य उद्देश्य इजरायललाई उसको आफ्नै सिमानामा व्यस्त र त्रसित राख्नु थियो ।

अर्कोतर्फ इजरायलले पनि इरानको यो रणनीतिलाई निस्तेज पार्न सिरिया र लेबनानमा रहेका इरानी सैन्य अखडाहरूमाथि लगातार हवाई आक्रमण गर्दै आयो । यो लुकिछिपी चलिरहेको युद्धले गर्दा दुवै देशका सुरक्षा एजेन्सीहरू संसारभर एकअर्काका विरुद्ध गुप्तचर अप्रेसनमा सक्रिय रहे ।

यस दुश्मनीको सबैभन्दा खतरनाक मोड इरानको आणविक कार्यक्रम हो । इजरायलको मान्यता अनुसार यदि इरानले परमाणु बम बनायो भने त्यो इजरायलको अस्तित्वका लागि सिधै अन्त्यको कारण बन्नेछ । त्यसैले इजरायलले इरानको आणविक क्षमता रोक्न विभिन्न साइबर आक्रमणहरू र इरानी वैज्ञानिकहरूको रहस्यमय हत्या गराएको आरोप लाग्दै आएको छ । इरानले पनि यसको बदला स्वरूप इजरायली जहाजहरूमाथि समुद्रमा आक्रमण गर्ने र साइबर हमला गर्ने कार्यलाई तीव्रता दियो । पछिल्लो समय इरानले इजरायली भूमिमै सिधै मिसाइल र ड्रोन प्रहार गरेपछि यो युद्ध अब छायाँबाट बाहिर निस्किएर प्रत्यक्ष सैन्य मुठभेडको अवस्थामा पुगेको हो ।

वर्तमान समयमा यो संघर्ष केवल दुई देशको लडाइँ मात्र होइन, यसले विश्व राजनीतिलाई नै दुई कित्तामा विभाजन गरिदिएको छ । अमेरिका र पश्चिमा मुलुकहरू इजरायलको रक्षा कवच बनेर उभिएका छन् भने इरानले रुस र चीनसँगको सम्बन्ध बलियो बनाउँदै इजरायललाई क्षेत्रीय रूपमा एक्ल्याउने प्रयास गरिरहेको छ । इजरायलले अरब देशहरूसँग सम्बन्ध सुधार गर्दै ‘अब्राहम एकर्ड’ नीति सुरु गरेको छ । 

यो नीति २०२० मा मध्यपूर्वका केही देशहरू विशेषगरी इजरायल, संयुक्त अरब इमिरेट्स  र बहराइनबीच गरिएको ऐतिहासिक शान्ति सम्झौताको उपज हो । यस मान्यताले यी देशहरूबीच कूटनीतिक र आर्थिक सम्बन्ध स्थापना गर्ने व्यवस्था गरेको थियो । यसै आधारमा इजरायलले नयाँ समीकरण बनाउन खोज्दा इरान थप आक्रामक बनेको देखिन्छ । यसरी आधा शताब्दीदेखि चल्दै आएको यो दुश्मनीले आज मध्यपूर्वलाई एउटा यस्तो मोडमा उभ्याएको छ, जहाँ सानो एउटा गल्तीले पनि विश्वव्यापी महायुद्धको रूप लिन सक्छ ।

इरान र इजरायलबीचको यो दुश्मनी केवल सीमाको झगडा होइन, बरु यो त मध्यपूर्वमा ‘को शक्तिशाली’ भन्ने वर्चस्वको लडाइँ पनि हो । इरानले आफ्नो ‘एक्सिस अफ रेसिस्टेन्स’ मार्फत इराक, सिरिया, लेबनान र यमनसम्म एउटा सैन्य सञ्जाल तयार पारेको छ । यसको मुख्य उद्देश्य इजरायललाई चारैतिरबाट घेराबन्दीमा पार्नु र अमेरिकी प्रभावलाई यो क्षेत्रबाट हटाउनू हो । इरानले हुथी विद्रोहीहरूलाई प्रयोग गरेर लालसागरमा इजरायलसँग जोडिएका जहाजहरूमाथि आक्रमण गराउनु यसै रणनीतिको एउटा कडी हो, जसले विश्व व्यापारलाई नै प्रभावित बनाएको छ ।

अर्कोतर्फ इजरायलले इरानको यो घेराबन्दीलाई तोड्न ‘डक्ट्रिन अफ द हेड अफ द स्नेक’ (सर्पको टाउकोमा प्रहार गर्ने सिद्धान्त) अपनाएको देखिन्छ । इजरायल अब इरानका प्रोक्सी समूहहरूसँग मात्र लडेर पुग्दैन भन्ने निष्कर्षमा पुगेको छ र सिधै इरानी भूमि वा इरानी सैन्य कमान्डरहरूलाई निशाना बनाउन थालेको छ । सिरियाको दमास्कसस्थित इरानी दूतावास नजिकै भएको आक्रमण र त्यसको जवाफमा इरानले इजरायली भूमिमा सिधै प्रहार गरेका सयौं मिसाइलहरूले यो दुश्मनी अब ‘छद्म युद्ध’ बाट निस्किएर ‘आमने–सामनेको युद्ध’ मा परिणत भएको पुष्टि गर्दछ । यसले गर्दा दुवै देशका नागरिकहरू सधैं भय र मनोवैज्ञानिक युद्धको चपेटामा परेका छन् ।

यो द्वन्द्वको अर्को पाटो भनेको प्रविधिको प्रतिस्पर्धा पनि हो । इजरायलले आफ्नो ‘आइरन डोम’ र ‘एरो’ जस्ता अत्याधुनिक मिसाइल डिफेन्स सिस्टममार्फत इरानी आक्रमणलाई निस्तेज पार्ने प्रयास गरिरहेको छ भने इरानले आफ्ना ड्रोन र व्यालिस्टिक मिसाइलहरूको संख्या र क्षमतालाई लगातार बढाइरहेको छ । इरानको बढ्दो सैन्य शक्ति र रुससँगको उसको सामरिक साझेदारीले इजरायल र पश्चिमा मुलुकहरूलाई झनै सशंकित बनाएको छ । रुस–युक्रेन युद्धमा इरानी ड्रोनको प्रयोग भएपछि यो दुश्मनीमा युरोपेली देशहरूको चासो र चिन्ता पनि ह्वात्तै बढेको छ ।

अन्त्यमा इरान र इजरायलबीचको यो दुश्मनीले मध्यपूर्वको भूगोल मात्र होइन, विश्वको ऊर्जा सुरक्षा र आर्थिक स्थायित्वलाई पनि जोखिममा पारेको छ । यदि यी दुई देशबीच पूर्ण रूपमा युद्ध भयो भने विश्व बजारमा पेट्रोलियम पदार्थको मूल्य आकासिने निश्चित छ, जसको प्रत्यक्ष असर नेपालजस्ता विकासोन्मुख देशहरूको अर्थतन्त्रमा पर्नेछ । 

धार्मिक कट्टरता, परमाणु हतियारको होड र क्षेत्रीय शक्तिको घमण्डले गर्दा यी दुई पुराना मित्रहरू आज यस्तो मोडमा आइपुगेका छन्, जहाँबाट फर्कने बाटो निकै कठिन देखिन्छ । (अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूमा प्रकाशित सामग्रीको सहयोगमा तयार पारिएको सामग्री)

इरानमाथिको आक्रमणले तेलको मूल्य प्रतिव्यारेल १०० डलर नाघ्ने संकेत, एसियाली अर्थतन्त्रमाथि दबाब

Share News