काठमाडौं । इरानी सेनाका चिफ अफ स्टाफ अब्दुल रहिम मौसवी र रक्षामन्त्री अजिज नासिरजादेहको मृत्यु भएको छ । अमेरिका र इजरायलले गरेका आक्रमणहरूमा अन्य धेरै उच्च सैन्य अधिकारीहरू पनि मारिएका छन्।
बीबीसी पर्सियनका अनुसार मौसवीको मृत्युको पुष्टि इरानी संस्था ‘द फाउन्डेसन फर द प्रिजर्भेसन अफ मोनुमेन्ट्स एण्ड डिसेमिनेशन अफ सेक्रेड डिफेन्स भ्यालुज’ ले गरेको हो ।
इरानी संस्थाले आफ्नो विज्ञप्तिमा भनेको छ, ‘शनिबार भएका आक्रमणहरूमा मौसवीसँगै रक्षामन्त्री अजिज नासिरजादेह, रिभोलुसनरी गाड्र्सका कमान्डर मोहम्मद पाकपुर र सुप्रिम डिफेन्स काउन्सिलका अध्यक्ष अली शामखानी पनि मारिएका छन् ।’
विज्ञप्तिका अनुसार, ‘उनीहरू डिफेन्स काउन्सिलको बैठकका क्रममा मारिएका हुन् र मृत्यु हुने अन्य व्यक्तिहरूको नाम पछि सार्वजनिक गरिनेछ ।’
शृङ्खलाबद्ध हमलाहरू विशेष गरी इरानको उच्च सैन्य नेतृत्वलाई लक्षित गरी गरिएको पाइएको छ ।
यस आक्रमणमा हालसम्म कम्तीमा २०१ जनाको मृत्यु भएको आधिकारिक पुष्टि भए तापनि कतिपय अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले मृतकको संख्या एक हजार नाघेको अनुमान गरेका छन् ।
यो घटनामा सैन्य अधिकारीहरू मात्र नभई ठुलो संख्यामा सर्वसाधारण र बालबालिकाहरू पनि मारिएका छन् ।
विशेष गरी दक्षिणी इरानको मिनाबस्थित एउटा प्राथमिक विद्यालयमा भएको बमबारीमा १०८ जना बालबालिकाले ज्यान गुमाएका छन् । आक्रमणमा परी ७५० भन्दा बढी व्यक्ति घाइते भएका छन् र कतिपय क्षेत्रमा सञ्चार सेवा अवरुद्ध भएकाले क्षतिको पूर्ण विवरण आउन अझै बाँकी छ।
यस घटनाले मध्यपूर्वमा तनावलाई चरम सीमामा पुर्याएको छ भने इरानले यसको कडा प्रतिवाद गर्ने चेतावनी दिएको छ ।