काठमाडौं । बहुप्रतीक्षित नागढुंगा सुरुङमार्ग आगामी वैशाख महिनादेखि परीक्षण (ट्रायल) का रूपमा सञ्चालनमा ल्याउने तयारी गरिएको छ । राजधानी प्रवेशद्वारको ट्राफिक जाम घटाउने लक्ष्यसहित निर्माण गरिएको सुरुङमार्ग अब सञ्चालनको अन्तिम चरणमा पुगेको हो ।
सडक विभागले वैशाखभित्र ट्रायल सुरु गर्ने योजना बनाए पनि सुरुङ सञ्चालनको जिम्मा पाउने कम्पनीको तयारी अवस्थाले मिति तय हुने जनाएको छ । सञ्चालन तथा व्यवस्थापनका लागि गरिएको ठेक्का प्रक्रियामा ७ निर्माण कम्पनी प्राविधिक रूपमा योग्य ठहरिएका छन् ।
नागढुंगा सुरुङ निर्माण आयोजनाका अनुसार काष्ठमण्डप-गान्सु हेङटोङ जेभी (बल्खु-१४), एसएक्सआरबी-ब्राइट बुल जेभी (धरान-१३, सुनसरी), जेटिसिजी-डाँफे जेभी (शान्तिनगर), इएमएसएल-पिएससिपिएल जेभी (अहमदाबाद, गुजरात, भारत), समानान्तर-सिएफएचइसी जेभी (पुरानो बानेश्वर-९), युक्सिन-एआरटी संयुक्त उपक्रम (बालाजु-११) र वेदान्सी-रेन्केन संयुक्त उपक्रम (बुढानीलकण्ठ-४) प्राविधिक मूल्यांकनमा सफल भएका हुन् ।
आयोजनाले आगामी १ चैतमा आर्थिक प्रस्ताव खोल्ने तयारी गरेको छ । आर्थिक मूल्यांकनमा उत्कृष्ट ठहरिने कम्पनीसँग चैतको तेस्रो साताभित्र ठेक्का सम्झौता गर्ने लक्ष्य राखिएको छ ।
सुरुङमार्ग सञ्चालनमा आएपछि नागढुंगा-नौबिसे खण्डको जाम न्यूनीकरण हुने, यात्रा समय छोटिने तथा इन्धन खपत घट्ने अपेक्षा गरिएको छ ।
