एकीकृत सुरक्षा योजनाअनुसार मैदानमा उत्रिने नेपाली सेनाको प्रतिबद्धता

काठमाडौं । आगामी फागुन २१ गते हुने निर्वाचनलाई भयरहित र सुरक्षित वातावरणमा सम्पन्न गराउन नेपाली सेनाले आफ्नो पूर्ण प्रतिबद्धता जाहेर गरेको छ । 

सरकारको एकीकृत सुरक्षा योजना अनुसार अन्य सुरक्षा निकायहरूसँग समन्वय गर्दै निर्वाचन सम्पन्न गराउन सेनाले सक्रियता बढाएको हो ।

सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जारी गरेको विज्ञप्तिअनुसार सेनाले ‘प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४’ र ‘प्रतिनिधि सभा सदस्य निर्वाचन एकीकृत सुरक्षा योजना, २०८२’ बमोजिम आफ्नो जिम्मेवारी सम्हालिरहेको छ ।

सेनाले मतदान सम्पन्न भएपश्चात् नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, निर्वाचन अधिकृत र राजनीतिक दलका प्रतिनिधिहरूसँगको समन्वयमा मतपेटिकालाई सुरक्षित रूपमा मतगणना स्थलसम्म पुर्याउनेछ ।

निर्वाचनको समयमा सेना ‘तेस्रो घेरा’ मा रहेर सुरक्षा प्रदान गर्ने जनाइएको छ ।

विसं २०४८ सालदेखिको अभ्यासलाई निरन्तरता दिँदै मतपत्र छपाइस्थलको सुरक्षा र काठमाडौंबाट ७७ वटै जिल्लासम्म मतपत्र ढुवानीको जिम्मा पनि सेनाले लिएको छ ।

सेनाले विगतका निर्वाचनहरूमा जस्तै यस पटक पनि स्थापित प्रोटोकल अनुसार नै काम गर्ने स्पष्ट पारेको छ । 

‘विगतका निर्वाचनहरूमा झैं यस पटक पनि निर्वाचनको क्रममा मतदान समापन भएपश्चात् एकीकृत टोलीले मतपेटिका ढुवानी गर्ने कार्य गर्नेछ,’ विज्ञप्तिमा उल्लेख छ।

निर्वाचनको संवेदनशीलतालाई ध्यानमा राख्दै सेनाले हवाई र स्थल दुवै मार्गबाट आवश्यक सुरक्षा सहयोग र ढुवानीको प्रबन्ध मिलाएको जनाएको छ ।

Share News