मध्यपूर्व : इजरायल लामो संघर्षका लागि तयार, ट्रम्पले साथ छाड्न सक्नेमा विशेषज्ञको चिन्ता

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प । फाइल तस्बिर

काठमाडौं । मध्यपूर्वमा बढ्दो तनावका बीच इजरायल भित्रैबाट एउटा गम्भीर चिन्ता सार्वजनिक भएको छ- कहीँ कतै डोनाल्ड ट्रम्पले इरानविरुद्धको युद्धमा साथ छोड्ने हुन् कि ?

इजरायली पत्रकार र रक्षा विश्लेषकहरूले चेतावनी दिएका छन् कि युद्ध लम्बिँदै गए अमेरिकाको धैर्य कमजोर पर्न सक्छ, जसले रणनीतिक साझेदारीमै दरार ल्याउन सक्छ ।

रक्षा विशेषज्ञ योआव लिमोरले दैनिक इसराइल हायोममा लेख्दै भनेका छन् कि इजरायलले लामो संघर्षका लागि तयारी गरिसकेको छ, तर वाशिंगटन त्यति धैर्यवान् रहने ग्यारेन्टी छैन । 

‘हामीसँग दिनौं वा हप्तौं सम्भवतः अझ लामो समयसम्म युद्ध जारी राख्ने तयारी छ,’ उनले लेखेका छन्, ‘तर ट्रम्पसँग त्यति धैर्य छ कि छैन स्पष्ट छैन ।’

लिमोरका अनुसार छिट्टै अमेरिका–इजरायलबीच रणनीतिक मतभेद सतहमा आउन सक्छन् ।

वरिष्ठ पत्रकार नहूम बारनेआले येदिओथ अहरोनोथमा थप तीखो टिप्पणी गरेका छन् । ‘अमेरिकाका लागि यो युद्ध ‘चयन’ हुन सक्छ, तर इजरायलका लागि ‘आवश्यकता’ हो,’ उनले लेखेका छन् । 

उनका अनुसार हाल ट्रम्प प्रशासनले खुला समर्थन जनाए पनि अमेरिकी जनमत लामो युद्धका कारण फेरिन सक्छ, जसको प्रत्यक्ष असर सैन्य र कूटनीतिक सहयोगमा पर्न सक्छ ।

उता एन १२ का अनुसार इजरायली नेतृत्व र सुरक्षा अधिकारीहरूले ‘यो त सुरुआत मात्र हो, अपरेशन धेरै दिनसम्म चल्नेछ’ भन्ने सन्देश दिइरहेका छन् । यसले तेल अभिभ र वाशिंगटन एउटै लक्ष्यमा देखिए पनि युद्धको अवधि र धैर्यको सीमा फरक–फरक हुन सक्ने देखाउँछ ।

विश्लेषकहरूका अनुसार यदि अमेरिका–इजरायलबीच समन्वय कमजोर भयो भने त्यसको प्रभाव केवल युद्धमै सीमित रहने छैन, यसले मध्यपूर्वको शक्ति–सन्तुलन, इरानको रणनीति र विश्व तेल बजारसम्म असर पार्न सक्छ । 

अमेरिका र इजरायलको संयुक्त आक्रमणमा हालसम्म इरानमा कम्तीमा २०१ जनाको मृत्यु भएको आधिकारिक पुष्टि भए तापनि कतिपय अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले मृतकको संख्या एक हजार नाघेको अनुमान गरेका छन्।

यो घटनामा सैन्य अधिकारीहरू मात्र नभई ठुलो संख्यामा सर्वसाधारण र बालबालिकाहरू पनि मारिएका छन् । 

विशेषगरी दक्षिणी इरानको मिनाबस्थित एउटा प्राथमिक विद्यालयमा भएको बमबारीमा १०८ जना बालबालिकाले ज्यान गुमाएका छन् । आक्रमणमा परी ७५० भन्दा बढी व्यक्ति घाइते भएका छन् र कतिपय क्षेत्रमा सञ्चार सेवा अवरुद्ध भएकाले क्षतिको पूर्ण विवरण आउन अझै बाँकी छ। 

Share News