काठमाडौं । काठमाडौंको नक्सालस्थित ‘मेरियट’ ब्रान्डअन्तर्गत सञ्चालनमा रहेको एभरेष्ट हस्पिटालिटी एण्ड होटल्स लिमिटेडले सन् २०२५ मा १ अर्ब ६२ करोड १० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ । यो आम्दानी अघिल्लो वर्षको तुलनामा ९.६४ प्रतिशत अर्थात् करिब १७ करोड ३० लाख रुपैयाँले कम हो र सन् २०२४ मा कम्पनीले १ अर्ब ७९ करोड ४० लाख रुपैयाँ आम्दानी गरेको थियो ।
कम्पनीका अनुसार बढ्दो प्रतिस्पर्धाका कारण औसत कोठा दर (एआरआर) र कोठा उपयोग दरमा आएको गिरावटले आम्दानी प्रभावित भएको हो । कोठा दर सन् २०२४ को १९ हजार ६९९ रुपैयाँबाट घटेर सन् २०२५ मा १८ हजार १५३ रुपैयाँमा सीमित भएको छ । त्यस्तै, कोठा उपयोग दर करिब ६७ प्रतिशतबाट घटेर करिब ६१ प्रतिशतमा झरेको कम्पनीले जनाएको छ ।
यसअघि कम्पनीले कम्पनीले सन् २०२३ मा १ अर्ब ७० करोड १० लाख रुपैयाँ, सन् २०२२ मा १ अर्ब २ करोड ४० लाख रुपैयाँ, सन् २०२१ मा २९ करोड ८० लाख रुपैयाँ र सन् २०२० मा ८३ करोड ७० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । कोभिड–१९ महामारीपछिको पर्यटन पुनरुत्थानसँगै पछिल्ला वर्षहरूमा आम्दानी र नाफामा सुधार देखिए पनि सन् २०२५ मा प्रतिस्पर्धात्मक दबाबले केही असर पारेको कम्पनीले जनाएको छ ।
कम्पनी वि.सं २०७० फागुन १६ गते प्राइभेट लिमिटेडका रूपमा स्थापना भएको थियो भने वि.सं २०७९ असार १५ गते पब्लिक लिमिटेड कम्पनीमा रूपान्तरण भएको हो । १.३५ एकड क्षेत्रफलमा फैलिएको यस होटलमा कुल २१४ कोठा रहेका छन् । होटल २०७६ वैशाखदेखि व्यावसायिक रूपमा सञ्चालनमा आएको हो र अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्ड मेरियट इन्टरनेशनलअन्तर्गत ‘मेरियट’ नामबाट सञ्चालन भइरहेको छ ।
एभरेष्ट हस्पिटालिटी एण्ड होटल्स एमएस ग्रुप अफ कम्पनीजअन्तर्गत सञ्चालित हो । एमएस ग्रुप इस्पात, चिनी, रसायन, कागज, कपडा, घरजग्गा, आतिथ्य, बैंकिङ तथा बीमा लगायत विविध क्षेत्रमा सक्रिय छ । कम्पनीका अध्यक्ष सुमित कुमार अग्रवाल हुन् । उनी भगवती स्टिल इन्डस्ट्रिजका अध्यक्षसमेत रहेका छन् र ‘फेयरफिल्ड बाइ मेरियट’ ब्रान्डअन्तर्गत सञ्चालित नेपाल हस्पिटालिटी एण्ड होटल प्रालिका सञ्चालक पनि हुन् । कम्पनीका प्रबन्ध निर्देशक गौरव अग्रवालले समूहअन्तर्गतका होटलहरूको प्रत्यक्ष व्यवस्थापन सम्हाल्दै आएका छन्।
कम्पनीले ‘मेरियट’ ब्रान्ड सञ्चालनका लागि मेरियट इन्टरनेशनलसँग होटल व्यवस्थापन सम्झौता गरेको छ । अमेरिकामा आधारित यस कम्पनीका ३० ब्रान्डअन्तर्गत १४४ देशमा ९ हजार ३०० भन्दा ठाउँमा होटलहरु सञ्चालनमा छन् । सम्झौताअनुसार मेरियटले प्राविधिक सहयोग, तालिम, आरक्षण प्रणाली र अन्तर्राष्ट्रिय बजार प्रवद्र्धन सेवा उपलब्ध गराउँदै आएको छ, जसबाट विश्वव्यापी ग्राहक सञ्जाल र ब्रान्ड पहिचानको लाभ मिलेको कम्पनीको भनाइ छ ।
सन् २०२५ को अन्त्यसम्म कम्पनीसँग २८ करोड ७० लाख रुपैयाँ नगद सञ्चिति रहेको छ, जुन अघिल्लो वर्ष ३९ करोड ९० लाख रुपैयाँ थियो । कम्पनीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट दीर्घकालीन १ अर्ब ३३ करोड ४४ लाख रुपैयाँ र अल्पकालीन १० करोड रुपैयाँ गरी कुल १ अर्ब ४३ करोड ४४ लाख रुपैयाँ ऋण लिएको छ । यसअघि कम्पनीले १ अर्ब ७४ करोड ३३ लाख रुपैयाँ बैंकबाट ऋण लिएको थियो ।