निर्वाचनका लागि ७ लाख मतदाताले छोडे काठमाडौं, उपत्यकामा २०० ट्राफिक प्रहरी मात्रै

काठमाडौं । आसन्न निर्वाचन र होली पर्वलाई मध्यनजर गर्दै काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनलाई अत्यन्तै प्रभावकारी र चुस्त बनाइएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता सुनिलजंग शाहका अनुसार निर्वाचनको सुरक्षा र सवारी व्यवस्थापनका लागि ट्राफिक प्रहरीहरू अहिले १८ घण्टासम्म ड्युटीमा खटिन थालेका छन् । 

प्रवक्ता शाहले हाल उपत्यकामा करिब २३० जना ट्राफिक प्रहरी जनशक्ति खटिएको र बिरामी बिदा लगायतका कारणले फिल्डमा करिब २०० जनाको सक्रिय उपस्थिति रहेको जानकारी दिए । उपत्यकाका विभिन्न चोकहरू जस्तै सातदोबाटो, कोटेश्वर, माइतीघर, कालीमाटी सुन्धारालगायतका ठाउँहरुमा हुने सवारी चापलाई समन्वय गरेर सडक सुचारु राख्ने काम भइरहेको उनले बताए । 

८ लाखले उपत्यका छाड्ने प्रक्षेपण

निर्वाचनका लागि काठमाडौंबाट बाहिरिने मानिसहरूको संख्या उल्लेख्य रहेको छ । शाहका अनुसार हालसम्म करिब ७ लाख मानिसले उपत्यका छोडिसकेका छन् । ‘हिजो मात्रै कलङ्की क्षेत्रमा निकै ठुलो चाप थियो, हामीले राति ९ बजेसम्म बसेर सवारी साधनको व्यवस्थापन गर्यौं,’ उनले भने ।

निर्वाचनसम्म करिब ८ लाख मानिसले काठमाडौं छाड्ने ट्राफिक प्रहरीको अनुमान छ । अब करिब १ लाख मानिस बाहिरिन बाँकी रहेको र २० गते राति १२ बजेदेखि सवारी साधन सञ्चालनमा रोक लगाइने उनले बताए । 

सोमबार होली पर्वको अवसरमा सडकमा सवारी साधनको उपस्थिति अन्य दिनको तुलनामा कम भए पनि सम्भावित दुर्घटना कम गर्न ट्राफिक प्रहरीले चेकपोइन्टहरू खडा गरी विशेष निगरानी गरिरहेको छ ।

दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीले सिभिल प्रहरीसँगको समन्वयमा विभिन्न ठाउँमा जाँच गरिरहेको छ । विशेष गरी तीव्र गतिमा सवारी चलाउने, ओभरटेक गर्ने, हेल्मेट नलगाई चलाउने र मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउनेहरूलाई रोकेर सम्झाइबुझाई गर्ने र कारबाही गर्ने प्रक्रियालाई तीव्र बनाइएको प्रवक्ता शाहले जानकारी दिए । ‘हामीले चालकहरूलाई बिस्तारै चलाउन, नियम पालना गर्न र सुरक्षित रहन आग्रह गरिरहेका छौं,’ उनले थपे । 

उपत्यकाको ट्राफिक व्यवस्थापनलाई सामान्य राख्न र निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गर्न ट्राफिक प्रहरी अहोरात्र खटिएको कार्यालयले जनाएको छ ।

Share News