एकपटक अवसर दिनूहोस परिणाम देखाइदिन्छु : जगदिश्वर नरसिंह केसी  {अन्तर्वार्ता}

काठमाडौं । जगदिश्वर नरसिंह केसी आत्मविश्वासी देखिन्छन् । उनी चुनावी प्रतिस्पर्धालाई स्वस्थ लोकतान्त्रिक अभ्यास मान्दै आफ्ना एजेण्डालाई व्यवहारिक बनाउने दाबी गर्छन् । नुवाकोट–२ का मतदाताले अब कसलाई विश्वास गर्ने भन्ने निर्णय गर्नेछन् । तर केसीको प्रतिबद्धता रोजगार, पूर्वाधार, सुशासन र पारदर्शिता रहेको छ । पछिल्लो  समय उनका एजेण्डा चुनावी बहसको केन्द्रमा आएको देखिन्छ। केसी भन्छन्, ‘लोकतन्त्रमा अन्तिम निर्णायक जनता हुन् ।’ मतदाताको विवेकपूर्ण निर्णयले नै आगामी पाँच वर्षको दिशा तय गर्ने उनको विश्वास छ । 

नुवाकोट क्षेत्र नं २ मा यतिबेला चुनावी सरगर्मी बढेको छ । विकास, रोजगारी, कृषि, शिक्षा, स्वास्थ्य र पूर्वाधारका सवालमा मतदाताका अपेक्षा बढिरहेका छन् । यही सन्दर्भमा नेपाली कांग्रेसका उम्मेदवार जगदिश्वर नरसिंह केसीसँग गरिएको कुराकानीको सम्पादित अंश :

तपाईं सांसद बनेर देश र निर्वाचन क्षेत्रका लागि के–के गर्ने सोंच्दै हुनुहुन्छ ?

म सांसद बनेपछि पहिलो प्राथमिकता संसदलाई प्रभावकारी बनाउने हुनेछ । संसद कानुन बनाउने थलो मात्र होइन, सरकारलाई उत्तरदायी बनाउने सर्वोच्च मञ्च पनि हो । देशका लागि म सुशासन, पारदर्शिता र जवाफदेहिता सुनिश्चित गर्ने कानुन निर्माणमा सक्रिय भूमिका खेल्नेछु । 

नेपाल अहिले आर्थिक चुनौती, वैदेशिक रोजगारी, युवाको बढ्दो पलायन, कृषि उत्पादनमा गिरावट, उद्योग–व्यवसायको सुस्तता जस्ता समस्याबाट गुज्रिइरहेको छ । यी समस्याको समाधानका लागि उत्पादनमुखी अर्थतन्त्र, आन्तरिक रोजगारी सिर्जना, लघु तथा साना उद्योग प्रवर्द्धन, पर्यटन विकास र ऊर्जा क्षेत्रको विस्तारमा जोड दिनुपर्छ ।

निर्वाचन क्षेत्र नुवाकोट–२ का लागि मेरो प्राथमिकता सडकको स्तरोन्नति, खानेपानी आयोजना, कृषिको आधुनिकीकरण, विद्यालय तथा स्वास्थ्य चौकी सुदृढीकरण र विपद् व्यवस्थापन हुनेछ । नुवाकोट भूकम्पबाट प्रभावित जिल्ला हो । पुनर्निर्माण र दिगो पूर्वाधार निर्माण अझै पूर्ण रूपमा सम्पन्न भएको छैन । त्यसलाई छिटो पूरा गराउन पहल गर्नेछु ।

मतदाताको घरदैलोमा पुग्दा उनीहरूको अपेक्षा के–के छन् त ?

जनताको पहिलो अपेक्षा रोजगारी देखियो । युवाहरूले हामीसँग विदेश जान चाहँदैनौं, आफ्नै देशमा काम पाउन चाहन्छौं भनिरहेका छन् ।

दोस्रो अपेक्षा पूर्वाधार विकासको छ । ग्रामीण सडक कालोपत्रे, पुल निर्माण, सिंचाइ विस्तार, स्थायी खानेपानी प्रणाली यी कुरा बारम्बार यहाँका मतदाताले उठाइरहेको हामीले पायौं । तेस्रो अपेक्षा स्वास्थ्य र शिक्षाको गुणस्तर सुधारको छ । नजिकै सुविधा सम्पन्न अस्पताल नहुँदा बिरामीलाई काठमाडौं धाउनुपर्छ भन्ने गुनासो मतदाताले गरिरहनु भएको छ । म आफै स्थानीय भएकोले मतदाताका यी समस्यासँग वाकिफ छु । विद्यालयमा शिक्षक दरबन्दी, प्राविधिक शिक्षा र डिजिटल सुविधा विस्तारको माग पनि रहेको छ ।

मतदाताले स्थिर, इमानदार र पहुँचयुक्त प्रतिनिधि चाहेका छन् । उनीहरू सांसदलाई चुनावपछि पनि उपलब्ध हुने व्यक्ति बनाउन चाहन्छन् ।

उनीहरूको अपेक्षा सम्बोधन गर्ने तपाईंका एजेण्डा के–के छन् ?

मेरो घोषणापत्र चार मुख्य आधारमा केन्द्रित छ– रोजगार र उत्पादन, कृषि क्लस्टर विकास, दुग्ध र तरकारी उत्पादनमा सहकारी सशक्तीकरण, युवालाई उद्यमशीलता तालिम ।

पूर्वाधार र पहुँचसँगै रणनीतिक सडक स्तरोन्नति, सबै वडामा गुणस्तरीय खानेपानी, विद्युत लाइन विस्तारलाई मैले मेरो योजनामा राखेको छु ।

मैले शिक्षा र स्वास्थ्य सुधारलाई मैले मेरो योजनाको अग्रिम पङ्क्तिमा राखेको छु । प्राविधिक शिक्षा कलेज स्थापना, प्राथमिक स्वास्थ्य केन्द्रलाई २४ घण्टा सेवालाई सक्षम बनाउने मेरो योजना रहेको छ ।

सुशासन र पारदर्शिता, बजेट खर्चमा पारदर्शिता, सामाजिक लेखा परीक्षणको अनिवार्यतालाई पनि मैले घोषणापत्रमा समेटेको छु । म विकासलाई नारामा होइन, योजनाबद्ध ढंगले अघि बढाउने पक्षमा छु ।

मतदातासँग के भनेर मत मागिरहनुभएको छ ?

मैले मतदातासँग एउटै कुरा भनिरहेको छु– एकपटक अवसर दिनूहोस परिणाम म देखाइदिन्छु । मैले राजनीतिमा बिताएको अनुभव र प्रशासनिक ज्ञानलाई विकासमा प्रयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छु ।

म भोट माग्दा कुनै असम्भव सपना देखाउँदिनँ । व्यवहारिक, मापन गर्न सकिने र समयसीमाभित्र पूरा गर्न सकिने योजनामात्र अघि सारेको छु ।

तपाईंले आफ्नो क्षेत्रमा मुख्य प्रतिस्पर्धी कसलाई ठान्नुभएको छ ?

लोकतान्त्रिक प्रतिस्पर्धामा सबै उम्मेदवार सम्मानयोग्य हुन्छन् । यस क्षेत्रमा वामपन्थी उम्मेदवार र अन्य दलका उम्मेदवार पनि सशक्त छन् । तर मेरो विश्वास छ, जनताको विश्वास र कांग्रेसको संगठनात्मक शक्ति नै मेरो सबैभन्दा ठूलो बल हो ।

अन्य प्रतिस्पर्धी र तपाईंबीच के फरक छ  ?

फरक दृष्टिकोण र कार्यशैलीमा छ । म समन्वयकारी नेतृत्वमा विश्वास गर्छु । विकासमा सबै दल, स्थानीय तह र नागरिक समाजलाई साथ लिएर अघि बढ्नुपर्छ भन्ने मेरो धारणा छ । म विगतमा विभिन्न सामाजिक र विकास कार्यक्रमसँग प्रत्यक्ष रूपमा जोडिएको छु । मेरो अनुभव व्यवहारमा रूपान्तरण गर्न सक्छु भन्ने आत्मविश्वास छ ।

चुनावमा तपाईंको खर्च कति हुन्छ ? त्यसका स्रोत के–के हुन् ?

निर्वाचन आयोगले तोकेको सीमा भित्रै खर्च गर्नेछु । खर्च पारदर्शीरूपमा अभिलेख राखेर सार्वजनिक गर्नेछु । स्रोत मुख्यतः पार्टीको सहयोग, वैधानिक चन्दा र व्यक्तिगत योगदान हुनेछ । अवैध वा अपारदर्शी स्रोत स्वीकार गर्ने कुनै योजना छैन ।

भोट पनि माग्ने, चन्दा पनि माग्ने राजनीतिक संस्कारबारे तपाईंको अनुभव कस्तो छ ?

यो संस्कार स्वस्थ लोकतन्त्रका लागि उपयुक्त हो । चन्दा स्वेच्छिक हुनुपर्छ, दबाबपूर्ण होइन । उम्मेदवारले पारदर्शी वित्तीय विवरण सार्वजनिक गर्नुपर्छ । निर्वाचन प्रणाली सुधार गरेर खर्च घटाउने उपाय पनि खोजिनुपर्छ ।

चुनावमा हार्नेहरूले पनि आर्थिक फाइदा लिन्छन् भन्ने तर्कबारे तपाईंको धारणा के छ ?

यो आरोप सबैमा लागू हुँदैन । केही अपवादका कारण सबै राजनीतिज्ञ बदनाम हुनु दुर्भाग्यपूर्ण हो । निर्वाचनले धेरैलाई ऋणमा पार्छ । राजनीतिक सुधार र पारदर्शिता बढाउन कानुनी व्यवस्था कडाइका साथ कार्यान्वयन हुनुपर्छ ।

राजनीति व्यापार बनेको गुनासोबारे तपाईंको धारणा र सांसद बनेपछि तपाईंको जीवनशैली कस्तो हुनेछ ?

राजनीति सेवा हो, व्यापार होइन । सांसद बनेपछि पनि मेरो जीवनशैली सादा र जिम्मेवार रहनेछ । जनताको पैसाबाट सुविधा लिने व्यक्ति जनताप्रति उत्तरदायी हुनुपर्छ । म जनतासँग नजिक, सरल र उपलब्ध प्रतिनिधि बन्नेछु ।

आगामी चुनावमा बहुमत ल्याएर सरकार बनाउने र देश बनाउने योजना के छ ?

नेपाली कांग्रेसले स्थिर सरकार र आर्थिक पुनरुत्थानको एजेण्डा अघि सारेको छ । उत्पादन र रोजगारी केन्द्रित अर्थतन्त्र, सुशासन र भ्रष्टाचार नियन्त्रण, शिक्षा–स्वास्थ्यको गुणस्तरमा सुधार र संघीयताको प्रभावकारी कार्यान्वयन नेपाली कांग्रेसका योजना हुन् । देश बनाउने काम दीर्घकालीन हुन्छ । तर सही नीति, इमानदार नेतृत्व र जनताको साथ भए परिवर्तन सम्भव छ ।

Share News