साउदी अरेबियाको रियादस्थित अमेरिकी दूतावासमा ड्रोन आक्रमण

काठमाडौं । साउदी अरेबियाको रियादस्थित अमेरिकी दूतावासमा ड्रोन आक्रमण भएको छ । दूतावास भवनमाथि दुई वटा ड्रोन प्रहार गरिएको त्यहाँको रक्षा मन्त्रालयले पुष्टि गरेको छ ।

दूतावासले सामाजिक सञ्जालमार्फत जारी गरेको विज्ञप्तिमा आक्रमणका कारण सामान्य आगलागी भएको र भवनमा आंशिक क्षति पुगेको उल्लेख गरिएको छ । मानवीय क्षतिको विवरण सार्वजनिक गरिएको छैन । 

अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार आक्रमणपछि ठूलो विस्फोटको आवाज सुनिएको थियो भने आकाशमा कालो धुवाँको मुस्लो देखिएको थियो । आक्रमण हुनुअघि नै भवन खाली गरिएकाले ठूलो मानवीय क्षति हुनबाट जोगिएको जनाइएको छ ।

साउदी अरेबियास्थित अमेरिकी नियोगले रियाद, जेद्दा र धहरानमा बसोबास गर्नेहरूलाई घरमै सुरक्षित रहन आग्रह गरेको छ ।

क्षेत्रीय तनाव बढिरहेका बेला उक्त आक्रमण भएको हो । शनिबार इजरायल) र अमेरिकाले इरानमाथि आक्रमण गरेको र त्यसक्रममा इरानका सर्वोच्च धार्मिक नेता खामेनी मारिएको दाबी गरिएको छ । त्यसपछि इरानले खाडी मुलुकमा रहेका अमेरिकी सैनिक अड्डा तथा इजरायलतर्फ लक्षित आक्रमण तीव्र पारेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । 

यसअघि सोमबार कुवेतस्थित अमेरिकी दूतावास आसपासबाट धुवाँ उठेको देखिएको थियो । त्यसपछि दूतावासले सर्वसाधारणलाई त्यहाँ नआउन र आफ्नै घरमा सुरक्षित बस्न अनुरोध गरेको थियो । इरानले बदलास्वरूप मध्यपूर्वका खाडी मुलुकहरूमा निरन्तर आक्रमण जारी राखेको बताइएको छ । 

Share News