रास्वपा सभापति लामिछानेको फेसबुक पेज ह्याक

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आधिकारिक फेसबुक पेज ह्याक भएको छ । मंगलबार (आज) बिहानैदेखि बाह्य व्यक्तिहरूले अनाधिकृत पहुँच बनाउनका लागि पटक–पटक ह्याक गर्ने प्रयास भएको जानकारी दिइएको हो । 

उक्त प्रयासका कारण सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै हाललाई यो फेसबुक पेज मेटाद्वारा ’लक’ गरिएको सचिवालयले जानकारी दिएको छ । ‘पेज पूर्ण रूपमा सुरक्षित नभएसम्म र हाम्रो नियन्त्रणमा फिर्ता नआएसम्म यसबाट कुनै पनि नयाँ सामग्री पोस्ट हुने छैनन्,’ सचिवालयले भनेको छ ।

सचिवालयले भनेको छ, ‘यदि उक्त पेजबाट कुनै पनि शंकास्पद पोस्ट, सन्देश वा लिङ्कहरू सार्वजनिक भएमा त्यसलाई आधिकारिक नमान्नुहोला ।’ 

फेसबुकको सुरक्षा प्रक्रिया अनुसार पेज पुनः सञ्चालनमा ल्याउने प्रयास भइरहेको बताइएको छ । आधिकारिक जानकारीका लागि पार्टीको आधिकारिक वेबसाइट वा अन्य प्रमाणित सामाजिक सञ्जालहरू मात्र पछ्याउन पनि सचिवालयले जानकारी दिएको छ ।  
 

Share News