खाडीको द्वन्द्वले नेपालको अर्थतन्त्रमा असर पुग्ने राष्ट्र बैंकको बुझाइ, 'तत्काल पेट्रोलको अभाव हुँदैन'

कुल रेमिट्यान्सको ४१ प्रतिशत हिस्सा प्रभावित हुने

काठमाडौं । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक रामशरण खरेलले पश्चिम एसियाको द्वन्द्वका कारण नेपालको अर्थतन्त्रमा फेरि एकपटक चुनौति थपिएको बताएका छन् । मंगलबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को आयोजनामा भएको ‘पश्चिम एसियाको द्वन्द्व, नेपालको अर्थतन्त्र र आपूर्ति व्यवस्थामा पर्ने असर’ विषयक अन्तरक्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन् । 

‘कोरोना महामारीबाट आर्थिक स्थिति सामान्य अवस्थामा फर्कन नपाउँदै भू-राजनीतिक तनाव, बाढी–पहिरो र अहिले इरानको द्वन्द्वले फेरी अर्थतन्त्र प्रभावित हुने देखिन्छ,’ खरेलले भने, ‘आगामी निर्वाचनबाट नयाँ सरकार बनेपछि अर्थतन्त्रले लय समाउने अपेक्षा गरिएकामा यस द्वन्द्वले थप चुनौती थपेको छ ।’

उनका अनुसार भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि अर्थतन्त्रलाई लयमा आउने बाटोमा थियो । बैंकिङ प्रणालीमा अत्यधिक तरलता रहेको, बैंक तथा वित्तीय संस्थाको ब्याजदर कम भएको र नयाँ सरकार आएपछि तरलता व्यवस्थापन हुने अपेक्षा गरिएको अवस्थामा नै मध्यपूर्वको द्वन्द्वले फेरि चुनौती थपेको खरेलको भनाइ छ । 

‘मध्यपूर्वका १७ वटा देशमध्ये १५ वटा देशबाट नेपालमा रेमिट्यान्स भित्रिने गरेको छ । यसमा पनि ४ वटा देशहरूले जम्मा रेमिट्यान्सको ३५ प्रतिशत हिस्सा  ओगटेको छ,’ खरेलले भने, ‘छोटो समयमा इरानको द्वन्द्व समाधान नभएमा करिब ४१ प्रतिशत रेमिट्यान्स प्रभावित हुने देखिन्छ ।’

उनले समग्र देशमा तत्काल यसको समस्या नदेखिएपनि रेमिट्यान्स पठाउनेहरूको घरमा भने तत्काल समस्या देखिने बताए । ६ महिनाको अवधिमा ६ लाख पर्यटक आउँदा मध्यपूर्वबाट आउने पर्यटक कम भए पनि सोही बाटो हुँदै आउने पर्यटक बढी रहेकाले यसको असर पर्यटन क्षेत्रमा समेत देखिने उनको भनाइ छ । 

मध्यपूर्वको द्वन्द्वको कारणले इन्धनको मूल्य बढ्ने र त्यसको असर उत्पादन मूल्यमा पनि गएर जोडिने उनको तर्क छ । सुनचाँदीको माग बढ्ने र विदेशी विनिमय सञ्चितिमा पनि यस द्वन्द्वले प्रभाव पार्ने उनले बताए ।

व्यवसायी भन्छन्- तत्काल पेट्रोलियम पदार्थको अभाव हुँदैन 

पेट्रोलियम व्यवसायी शिवप्रसाद घिमिरेले तत्काल पेट्रोलियम पदार्थ अभावको स्थिति सिर्जना नहुने बताएका छन् । ‘समय समयमा नेपालमा विभिन्न कारणले पेट्रोलियम पदार्थको अभाव हुँदै आएको छ । यसर्थ विभिन्न मुलुकमा द्वन्द्व हुँदा नेपालमा पनि एक किसिमको अभावको त्रास फैलने गर्दछ,’ घिमिरेले भने, ‘यस्तो अवस्थामा विगतको अभ्यासलाई हेरेर पनि त्रसित हुनु स्वभाविक हो । तर, समग्र स्थिति हेर्दा तत्कालै पेट्रोलियम पदार्थको अभाव हुने देखिँदैन ।’

अहिले भएको द्वन्द्वका कारण एकातर्फ उत्पादन घटेर जाने, आपूर्ति श्रृंखलामा पनि समस्या पैदा गर्ने भएपनि त्यसले नेपालसम्म तत्कालै असर नगर्ने उनको तर्क छ । केही दिन अगाडि मात्रै ग्यास अभावको त्रास फैलिएका कारण पनि समग्र इन्धन नै अभाव हुने हो कि भन्ने त्रास जनमानसमा फैलिएको उनको भनाइ छ । 

‘अन्य इन्धनको तुलनामा ग्यास आपूर्ति श्रृंखला भने  फरक किसिमको छ । हाम्रोमा ग्यासको बुलेट भारतको मात्रै प्रयोग हुने गर्दछ भने यसको ढुवानीकर्ता भारत मात्रै हो,’ उनले भने, ‘यही कारण बुलेटको अभाव हुनु र भारतीय आयातकर्ताले पनि सुरक्षित र बढी नाफा खोज्दै भारतमा नै बढी ढुवानी गरिदिने गर्छन् । यसले नेपालमा समस्या पैदा गरेको छ ।’

यही कारण बेलाबेला ग्यासको सवालमा समस्या आउने भएपनि हाल भने बुलेट अभावको समस्या समाधान भइसकेकाले ग्यासको अभाव नहुने उनको भनाइ छ । ग्यासका सवालमा अन्य समस्या समाधान भएको र जाडोका कारण बढी हुने खपतको मात्रा पनि घटेर जाने भएकाले अभावको त्रासमा रहनुपर्ने स्थिति नभएको घिमिरेले बताए ।

अहिले पश्चिम एसियामा भएको युद्धका कारण इन्धन अभावको त्रासले सामान्य समयमा भन्दा बढी खपत भइरहेको उनले उल्लेख गरे । यसले गर्दा ग्यास अभावको समस्या केही मात्रामा देखिएको भएपनि यो समस्या समाधानतर्फ गइसकेको उनले बताए । अर्कोतर्फ, द्वन्द्वका कारण उडान रद्द हुँदा हवाई इन्धनको खपत घटेको र नेपालको सन्दर्भमा भण्डारण पनि पर्याप्त भएकाले त्रासमा रहनुपर्ने स्थिति नभएको घिमिरेले बताए ।

यस्तै, वाणिज्यविद् रवि शंकर सैंजुले मध्य पूर्व तथा पश्चिम एसिया द्वन्द्वबाट नेपालले पाठ सिक्नुपर्ने बताएका छन् । ‘एसिया द्वन्द्वबाट नेपालको अर्थतन्त्रमा कस्तो असर पर्छ र उक्त घटनाबाट हामीले के सिक्नुपर्छ भन्ने विषय मुख्य हुन्छ । वास्तवमा अर्को देशमा भएको घटनाले अर्थतन्त्रमा प्रभाव पार्ने र सुरक्षाको बाटो अपनाउने पाठ हामीले सिक्नुपर्छ,’ सैंजुले भने, ‘अर्को देशको घटनामा आफ्नो अर्थतन्त्रमा परेको प्रभावलाई बुझेर अघि बढ्नुपर्ने काम हामीले गर्नुपर्छ ।’

द्वन्द्वका कारण पर्यटन पनि प्रभावित हुने उनले बताए । ‘द्वन्द्वका कारण हवाइ यातायात प्रभावित हुने र त्यसको असर हाम्रो पर्यटन व्यवसायमा पर्ने देखिन्छ । अहिले विभिन्न स्थानका विमानस्थलहरुमा नै पर्यटक रोकिनुपर्ने स्थिति बनेको छ,’ उनले भने, ‘यो अवस्थाका कारण नेपाल आउने पर्यटकमा कमी आउने देखिएको छ ।’ 

उनले पर्यटकले आफ्नो सुरक्षालाई पहिलो प्राथमिकतामा राख्ने भएकाले यस्ता विषयले नेपालको पर्यटन व्यवसायमा असर पुराउने बताएका हुन् ।

Share News