वीरगञ्ज । वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको सात महिनामा पाँच खर्ब १९ अर्ब एक करोड रुपैयाँ मूल्य बराबरका वस्तु तथा सामान आयात गरिएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा चालु आवमा ५७ अर्ब ३१ करोड रुपैयाँ अर्थात् १२ प्रतिशत बढी सामान आयात भएको हो ।
वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टले चालु आवमा आयातमा उल्लेखनीय वृद्धि भएको बताए । 'चालु आवमा पेट्रोलियम पदार्थ र फलाम तथा फलामबाट बनेका सामानहरुको आयातको हिस्सा बढी देखिन्छ,' उनले भने । गत आवको सात महिनामा चार खर्ब ६० अर्ब २३ करोड रुपैयाँ मूल्य बराबरका सामान आयात भएको थियो ।
चालु आवको सात महिनामा एक खर्ब छ अर्ब ४३ करोड रुपैयाँ मूल्य पर्ने पेट्रोलियम पदार्थको आयात गरिएको छ । त्यसैगरी, ४६ अर्ब १६ करोड रुपैयाँ मूल्य पर्ने फलाम तथा फलामबाट बनेका सामानहरुको आयात गरिएको छ । सोही अवधिमा ३५ अर्ब ८७ करोड रुपैयाँ मूल्य पर्ने मेसिनरी तथा पार्टपुर्जा आयात गरिएको छ । ३५ अर्ब ६७ करोड रुपैयाँ मूल्य पर्ने भटमासको कच्चा तेल आयात भएको जनाइएको छ । २७ अर्ब ९८ करोड रुपैयाँ मूल्य पर्ने इलेक्ट्रिक मेसिनरी, उपकरण र तिनका पार्टपुर्जाको आयात गरिएको भन्सार कार्यालयले जनाएको छ ।