मौसम विभाग भन्छ– मौसमी गतिविधिको कारण मतदान प्रक्रियामा कुनै असर पर्दैन

काठमाडौं । देशभर आगामी शनिबारसम्म मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

मंगलवार मुलुकका केही पहाडी भू–भागमा आंशिक बदली देखिए पनि वर्षाको कुनै सम्भावना नरहेको विभागका वरिष्ठ मौसमविद् वरुण पौडेलले बताए । 

उनका अनुसार कोशी प्रदेशका ताप्लेजुङ र संखुवासभासहित गण्डकी प्रदेशको कास्की जिल्लाका एक–दुई स्थानमा भने छिटपुट वर्षाको सम्भावना रहेको छ । तर यी क्षेत्रका सबै भूभागमा वर्षा हुने अवस्था नरहेको उनले जानकारी दिए ।

पौडेलले मंगलबारको तुलनामा बुधवारको मौसम केही खुल्ने अनुमान गरिएको समेत बताए । 

बुधवार पनि मुलुकका केही पहाडी क्षेत्रमा हल्का बादल लागेपनि उल्लेखनीय मौसमी जोखिम नदेखिएको पौडेलको भनाइ छ । उनले गर्मीयाम सुरु हुँदै जाँदा दिउँसो तापक्रम बढ्ने र बेलुकातिर पहाडी क्षेत्रमा बादल विकसित भई छिटपुट वर्षा हुने मौसमी प्रवृत्ति देखिनसक्ने भएपनि यस साताभरि वर्षा तथा हिमपातको कुनै सम्भावना नरहेको जानकारी दिए ।

पौडेलले मौसमी गतिविधिको कारण मतदान प्रक्रियामा कुनै असर नपर्ने समेत स्पष्ट पारे ।

Share News