काठमाडौं । मध्यपूर्व क्षेत्रमा बढ्दो द्वन्द्वको कारण खाडी मुलुकको विमानस्थल अस्थायी रूपमा बन्द हुँदा उडान प्रभावित भएका छन् । नियमित रूपमा हुने उडान बन्दै भएपछि वायुसेवा कम्पनीहरूले नेपाल–खाडी मुलुकमा गर्दै आइरहेको नियमित उडानको साटो वैकल्पिक रुट प्रयोग गर्न बाध्य भएका छन् ।
एयर अरेबिया, कुवेत एयरवेज, कतार एयरवेज, जजिरा एयरवेज, फ्लाई दुबईको नियमित उठान ठप्पै भएका छन् । नेपाल एयरलाइन्सले पनि काठमाडौं–दोहा उडान स्थगित गरेको बुलेटिन जारी गरिसकेको छ ।
धेरै एयरलाइन्सका उडान बन्द हुनु र सीमित सिट मात्र उपलब्ध हुनुका कारण टिकट मूल्य अस्वाभाविक रूपमा बढेको ट्राभल व्यवसायीहरू बताउँछन् । व्यवसायीहरूका अनुसार पहिलेको तुलनामा अहिलेको मूल्यमा ठूलो अन्तर देखिएको छ । टिकट मूल्य दोब्बरले वृद्धि भएको छ ।
संयुक्त अरब इमिरेट्स, कतार, साउदी अरेबिया र बहराइन जाने–आउने उडानहरू प्रभावित नेपाली श्रमिकदेखि विदेशी पर्यटकहरू टिकट अभाव र चर्को मूल्यवृद्धिको मारमा परेका हुन् ।
आविस्कार ट्राभलका सञ्चालक जनक पाण्डेका अनुसार खाडी मुलुकहरूमा नियमित हुने उडान बन्द भएपछि विकल्पको रुटमा चीन, भारत, बंगलादेश, थाइल्याण्ड, टर्की र मलेसिया रहेका छन् । उनले सबैभन्दा बढी प्रभावित हुनेहरूमा युरोप र अमेरिका जाने यात्रुहरू रहेको बताए । उनका अनुसार कम प्रभावित हुने यात्रुहरूमा भने अस्ट्रेलिया र जापानका रहेका छन् ।
ट्राभल व्यवसायीहरूका अनुसार सामान्य रूपमा चाइना एयरलाइन्स, एयर इन्डिया, थाइ एयरवेज र बंगलादेश र टर्कीस एयरसलाइन्सले वन वेमा टिकटको मूल्य ९० देखि १ लाख रुपैयाँसम्म लिने गरेका छन् । तर अहिले वैकल्पिक रुटको प्रयोग गर्नुपर्दा यात्रुहरूले टिकटको मूल्य १ लाख ७० हजार देखि ३ लाख रुपैयाँसम्म तिर्नुपर्ने भएको छ ।
दैनिक रूपमा कतार एयरवेजका ३, इमिरेटस ४, एयर अरेबियाको ३ उडान हुँदै आएका थिए।
प्रभावित यात्रुलाई राहत दिन एयरलाइन्सहरूले मिति परिवर्तनलगायतका सुविधा निःशुल्क उपलब्ध गराउने प्रयास गरिरहेको छ । तर अनिश्चित अवस्था लम्बिएमा हवाई भाडा अझै महँगो हुने र वैदेशिक रोजगारीमा जाने श्रमिक तथा विदेशमा अध्ययनरत विद्यार्थी थप मारमा पर्ने सम्भावना रहेको व्यवसायीहरूको भनाइ छ ।