काठमाडौं । लक्ष्मी ग्रुप अन्तर्गत सञ्चालित सुजल फुड्स प्रालिले सन् २०२५ मा १ अर्ब ५५ करोड ९० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ । यो अघिल्लो वर्षको तुलनामा २.४९ प्रतिशत अर्थात् ३ करोड ८० लाख रुपैयाँ बढी हो । सन् २०२४ मा कम्पनीको सञ्चालन आम्दानी १ अर्ब ५२ करोड १० लाख रुपैयाँ थियो।
कम्पनीका अनुसार कन्फेक्सनरी क्षेत्रमा बढ्दो प्रतिस्पर्धा, आयातित ब्रान्डहरूको उपस्थिति तथा कच्चा पदार्थको मूल्यमा हुने उतार–चढावले आम्दानीमा प्रभाव पार्दै आएको छ । मागमा आएको सुस्तता तथा कच्चा पदार्थको बढ्दो मूल्य समायोजन गर्न गरिएको पुनर्मूल्य निर्धारणका कारण सन् २०२४ मा आम्दानी करिब २५ प्रतिशतले घटेको थियो । त्यसपछि सन् २०२५ मा आंशिक सुधार देखिएको कम्पनीले जनाएको छ । विविधीकृत उत्पादन पोर्टफोलियो र देशभर फैलिएको वितरण सञ्जालले पुनरुत्थानमा सहयोग पु¥याएको कम्पनीको भनाइ छ ।
कम्पनीले सन् २०२३ मा २ अर्ब २ करोड ७० लाख रुपैयाँ, सन् २०२२ मा १ अर्ब ८९ करोड २० लाख रुपैयाँ, सन् २०२१ मा १ अर्ब ८० करोड ५ लाख रुपैयाँ, सन् २०२० मा १ अर्ब ४६ करोड ६० लाख रुपैयाँ, सन् २०१९ मा १ अर्ब ४० करोड ७० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो ।
चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा कम्पनीले करिब ६६ करोड १० लाख रुपैयाँ बराबरको बिक्री गरेको छ, जुन अघिल्लो वर्षको सोही अवधिमा ६२ करोड ९० लाख रुपैयाँ थियो । यसले आम्दानी क्रमशः सुधारोन्मुख रहेको संकेत गर्दछ ।
सन् १९९५ मा स्थापना भएको कम्पनीले वेफर, ललिपप, क्यान्डी, टफी लगायतका उत्पादन गर्दै आएको छ । कम्पनीको प्रमुख ब्रान्ड चोकोफन सन् १९९९ मा बजारमा आएको थियो र हालसम्म उपभोक्तामाझ लोकप्रिय रहँदै आएको छ । साथै ‘रासिलो’ र ‘फ्रेसो’ कडा क्यान्डी पनि आम्दानीका प्रमुख स्रोतका रूपमा रहेका छन् । कुल आम्दानीको आधाभन्दा बढी हिस्सा चकलेट समूह (क्यान्डी र ललिपपसहित) बाट आउने गरेको छ भने बाँकी वेफर, गम लगायतका उत्पादनबाट प्राप्त हुने गरेको कम्पनीको भनाइ छ ।
कम्पनीको केन्द्रीय कार्यालय तथा दुई उत्पादन इकाइ पोखरामा अवस्थित छन् । देशभर २३० भन्दा बढी विक्रेतामार्फत कम्पनीले आफ्ना उत्पादन बिक्रीवितरण गर्दै आएको छ ।
कम्पनीका प्रमुख सेयरधनीहरूमा गणेश बहादुर श्रेष्ठ, सुनिल श्रेष्ठ, अञ्जन श्रेष्ठ, निरञ्जन श्रेष्ठ र निराकर श्रेष्ठ रहेका छन् । प्रत्येकको करिब १७ प्रतिशत स्वामित्व हिस्सा रहेको छ । लक्ष्मी समूहको अटोमोबाइल, स्टिल तथा द्रुत उपभोग्य वस्तु लगायत विभिन्न क्षेत्रमा व्यवसायिक उपस्थिति रहेको छ ।
नाफामा आएको दबाबका कारण ऋण भुक्तानी क्षमतामा चुनौती देखिएको कम्पनीले जनाएको छ । कम्पनीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट २७ करोड ३० लाख रुपैयाँ दीर्घकालीन र ६३ करोड रुपैयाँ अल्पकालीन गरी कुल ९० करोड ३० लाख रुपैयाँ ऋण लिएको छ । यसअघि कम्पनीको बैंक ऋण १ अर्ब १० लाख रुपैयाँ रहेको थियो ।
करिब तीन दशक लामो अनुभवसहित सुजल फुड्सले आगामी दिनमा नयाँ उत्पादन सार्वजनिक गर्ने योजना बनाएको जनाएको छ । कम्पनीले आफ्नो समग्र उत्पादन पोर्टफोलियोबाट ५० प्रतिशतभन्दा बढी बजार हिस्सा ओगटेको दाबी गरेको छ । देशभर आफ्ना उत्पादनप्रतिको लोकप्रियता र उपभोक्ताको विश्वासका कारण कम्पनीले सन् २००६ देखि भारत र चीनमा निर्यात सुरु गरेको छ । हाल कम्पनीले उत्तर अमेरिका, युरोप, अष्ट्रेलिया, अफ्रिका तथा खाडी मुलुकहरूमा समेत निर्यात विस्तार गरेको जनाएको छ ।