काठमाडौं । आगामी निर्वाचनलाई लक्षित गरी काठमाडौं उपत्यकाबाट बाहिरिने यात्रुहरूको संख्यामा उल्लेख्य वृद्धि भएको छ । काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता सुनिल जङ्गका अनुसार निर्वाचनमा मतदान गर्न र घर फर्कनका लागि हालसम्म करिब ८ लाख मानिसले उपत्यका छाडिसकेका छन् ।
निर्वाचनको सुरक्षा र व्यवस्थापनलाई दृष्टिगत गर्दै आज राति १२ बजेदेखि नै उपत्यकाका सडकमा सवारी साधन सञ्चालनमा रोक लगाइने भएको छ ।
प्रवक्ता जङ्गले दिएको जानकारी अनुसार निर्वाचन आयोगले जारी गरेको मापदण्ड बमोजिमका अत्यावश्यक सेवाका सवारी साधनहरू मात्र चल्न पाउनेछन् भने अन्य निजी तथा सार्वजनिक सवारी साधनहरू पूर्ण रूपमा बन्द रहनेछन् ।
उपत्यकाको ट्राफिक व्यवस्थापनलाई चुस्त राख्न र सम्भावित दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीहरू सडकमा बाक्लो रूपमा परिचालन गरिएको छ । प्रवक्ता जङ्ग भन्छन्, ‘अहिले उपत्यकाका हरेक चोकमा ट्राफिक लाइट र प्रहरीको उपस्थिति छ । जाम र दुर्घटना हुन नदिन हाम्रा टोलीहरू चौबीसै घण्टा सक्रिय छन् ।’
हालसम्म उपत्यकाको चुनावी माहोल शान्तिपूर्ण रहेको र सुरक्षा व्यवस्था कडा पारिएको उनले बताए । निर्वाचनको शान्ति सुरक्षाको विस्तृत पाटो जिल्ला प्रशासन र सुरक्षा निकायको समन्वयमा भइरहेको र ट्राफिकको अवस्था पूर्ण रूपमा दुरुस्त रहेको प्रहरीको भनाइ छ ।
चुनाव आउन एकदिन बाँकी रहँदा उपत्यका छोड्नेको भिड देखिन्छ भने काठमाडौंको सडक सुनसान भएको छ । उपत्यकामा चल्ने सार्वजनिक सवारीसाधनको संख्या पातलो छ ।
अहिले घर जानेहरुको नयाँ बसपार्क, कोटेश्वर, जडीबुटी,नयाँ बानेश्वर, कलंकीलगायतका ठाउँमा भिड छ । सवारी साधनको आवतजावतमा आज रातिदेखि रोक लगाइने भएकाले सर्वसाधारणलाई निर्वाचन आयोगको नियम पालना गर्न र आवश्यक परेमा मात्र अनुमति प्राप्त सवारी साधन प्रयोग गर्न प्रहरीले आग्रह गरेको छ ।