काठमाडौं । अमेरिकास्थित मानव अधिकारकर्मी समाचार एजेन्सी (एचआरएएनए) ले २८ फेब्रुअरीदेखि हालसम्म इरानमा १ हजार ९७ जना नागरिकको मृत्यु भएको रिपोर्ट सार्वजनिक भएको जनाएको छ ।
संस्थाका अनुसार मृत्यु हुनेमध्ये १० वर्षभन्दा कम उमेरका १८१ जना बालबालिका पनि समावेश छन् ।
त्यस्तै, घाइतेको संख्या बढेर ५ हजार ४०२ पुगेको छ, जसमा १०० जना बालबालिका रहेको बताइएको छ ।
एचआरएएनएले पछिल्लो २४ घण्टामा मात्रै कम्तीमा १०४ वटा आक्रमण दर्ता भएको जनाएको छ । ती आक्रमणहरूमा सैन्य अड्डासँगै अस्पताल तथा आवासीय क्षेत्रहरूलाई पनि निशाना बनाइएको उल्लेख गरिएको छ ।
संस्थाले सयौं अन्य मृत्युका घटनाबारे प्राप्त सूचनाहरूको अझै अनुसन्धान भइरहेको पनि जनाएको छ ।