निर्वाचन आयुक्तहरूको एकै स्वर– ‘अल्छी नमानी मतदान केन्द्र जाऔँ’

काठमाडौं । निर्वाचन आयोगले फागुन २१ गते बिहीबार हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा निर्धक्क भएर आफ्नो मताधिकार प्रयोग गर्न आम मतदातालाई विशेष अपिल गरेको छ । आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसहित आयुक्तहरू डा. जानकीकुमारी तुलाधर र सगुन शमशेर जबराले छुट्टाछुट्टै सन्देश जारी गर्दै निर्वाचनलाई सफल बनाउन शतप्रतिशत मतदानको आह्वान गरेका हुन् । 

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले यो निर्वाचनले नेपालको संविधान र संघीय लोकतान्त्रिक व्यवस्थालाई अझ सुदृढ एवं परिपक्व बनाउने विश्वास व्यक्त गरे । गत भदौमा विकसित विषम परिस्थितिपछि हुन लागेको यो आकस्मिक निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र भयमुक्त वातावरणमा सम्पन्न गराउन आयोग पूर्ण रूपमा तयार रहेको उनले स्पष्ट पारे ।

निर्वाचन आयुक्त डा. तुलाधरले असल व्यक्तिको चयनका लागि मतदान अनिवार्य रहेको उल्लेख गर्दै समयमै मतदान केन्द्र पुग्न आग्रह गरिन् । निर्वाचनलाई मितव्ययी र विश्वासिलो बनाउन सबै पक्षको उत्तिकै दायित्व रहने बताउँदै उनले राजनीतिक दल, सुरक्षा निकाय र कर्मचारीहरूलाई सहयोगका लागि अपिल गरिन् । निर्वाचन आयुक्त जबराले मतदातालाई ‘अल्छी नगरी’ मतदान केन्द्रमा जान र मताधिकारको १०० प्रतिशत प्रयोग गर्न आग्रह गरे।

निर्वाचनको समयमा झैझगडा र आरोप–प्रत्यारोप नगरी शान्तिपूर्ण वातावरण कायम राख्न उनले अनुरोध गरे। योग्य उम्मेदवार छनोट गरी देशलाई सही निकास दिन मतदान अपरिहार्य रहेको उनको भनाइ थियो । आयोगले निर्वाचन सञ्चालन तथा व्यवस्थापनसम्बन्धी सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको र सुरक्षा व्यवस्था कडा पारिएको जनाएको छ । प्रतिनिधिमुलक शासन व्यवस्थाको आधारशिला नै निर्वाचन भएको भन्दै आयोगले कुनैपनि अवाञ्छित गतिविधिबाट प्रभावित नभई आफ्नो विवेक प्रयोग गर्न मतदातालाई आह्वान गरेको छ । 

Share News