काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले काठमाडौंको विशालनगरस्थित मतदान केन्द्रमा पुगेर आफ्नो मताधिकार प्रयोग गरेका छन् ।
मतदानपछि अध्यक्ष ढकालले मत केवल अधिकार मात्र नभई देशको भविष्य निर्धारण गर्ने जिम्मेवारीसमेत भएको बताए । उनले मतदानमार्फत मुलुकले सक्षम र दूरदर्शि नेतृत्व पाउने अपेक्षा व्यक्त गरे । त्यस्तो नेतृत्वबाट स्थिर नीति, लगानीमैत्री वातावरण र निजी क्षेत्रको सहभागितासहित समृद्ध अर्थतन्त्र निर्माणतर्फ मुलुक अघि बढ्ने उनको विश्वास छ ।
अध्यक्ष ढकालले मुलुकको अर्थतन्त्र, रोजगारी र राजस्वमा ८० प्रतिशतभन्दा बढी योगदान निजी क्षेत्रको रहेको उल्लेख गर्दै निजी क्षेत्र नै विकास र समृद्धिको प्रमुख संवाहक भएको बताए । निजी क्षेत्रको सक्रिय सहभागिता र लगानीबाट मात्रै अपेक्षित विकास र समृद्धि हासिल हुन सक्ने उनको भनाइ छ ।
निर्वाचनपछि बन्ने नयाँ सरकार र नेतृत्वले निजी क्षेत्रको महत्वलाई मनन गर्दै सहकार्यलाई अझ सुदृढ बनाउने विश्वास व्यक्त गर्दै उहाँले सबै नागरिकलाई मतदानमा सहभागी भई आफ्नो अमूल्य मतमार्फत देशको साझा भविष्य निर्माणमा योगदान दिन आग्रह गरे ।
