काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ अन्तर्गत बिहीबार देशभर उत्साहजनक रूपमा मतदान भइरहेको छ । निर्वाचन आयोगबाट प्राप्त पछिल्लो अद्यावधिक विवरणअनुसार बेलुका ४ बजेसम्म देशभर करिब ४५ प्रतिशत मत खसेको छ ।
देशभरका कुल १ करोड ८९ लाख ३ हजार ६ सय ८९ मतदातामध्ये हालसम्म ८४ लाख ६० हजार ६ सय ७७ जनाले आफ्नो मताधिकार प्रयोग गरिसकेका छन् ।
प्रादेशिक तथ्याङ्कलाई हेर्दा पहाडी र हिमाली क्षेत्रमा मतदाताको उपस्थिति बाक्लो देखिएको छ।
गण्डकी र कर्णाली प्रदेशमा सबैभन्दा बढी ४८ प्रतिशत मतदान भएको छ ।
त्यसैगरी, बागमती र लुम्बिनी प्रदेशमा ४७ प्रतिशत मत खसेको छ।
त्यस्तै, कोशी प्रदेशमा ४६ प्रतिशत मतदान भएको छ ।
सुदूरपश्चिम र मधेस प्रदेशमा भने तुलनात्मक रूपमा कम मतदान भएको छ। सुदूरपश्चिममा ३९ प्रतिशत र मधेस प्रदेशका ३२ निर्वाचन क्षेत्रमा सबैभन्दा कम ३७ प्रतिशत मात्र मत खसेको छ ।
काठमाडौं उपत्यकाका १५ निर्वाचन क्षेत्रमा भने मतदाताको सहभागिता निकै उत्साहजनक देखिएको छ । यहाँ दिउँसो पौने ४ बजेसम्म नै ५४ प्रतिशत मत खसिसकेको तथ्याङ्क छ ।
साँझ ५ बजेसम्म समय तोकिए पनि लाइनमा रहेका मतदाताले मतदान गर्न पाउने भएकाले अन्तिम प्रतिशत अझै बढ्ने देखिन्छ ।
अहिले पनि धेरै मतदान केन्द्रहरूमा मतदाताको लामो लाइन रहेकाले कुल मतदानको प्रतिशत केही वृद्धि हुने अनुमान पनि गरिएको छ ।