सिमकोट । हिमाली जिल्ला हुम्लामा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको मत गणना सुरु भएको छ । जिल्ला सदरमुकाम सिमकोटस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा सर्वदलीय सहमतिपछि ७ः४५ मा सुरु हुने भनिएको मत गणना करिब १ घण्टा १५ मिनेट पछि ९ः५ मा सुरु गरिएको हो ।
जिल्लाका विभिन्न मतदान केन्द्रबाट सङ्कलन गरिएका मतपेटिकाहरू सुरक्षा व्यवस्थासहित सदरमुकाम सिमकोटमा ल्याइएपछि मतगणना प्रक्रिया अघि बढाइएको निर्वाचन कार्यालयले जनाएको छ । दुर्गम क्षेत्रहरूबाट केही मतपेटिका हेलिकोप्टरमार्फत ल्याइएको थियो ।
मत गणनास्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको कडा सुरक्षा व्यवस्था मिलाइएको छ । उम्मेदवारका प्रतिनिधि तथा पर्यवेक्षकहरूको उपस्थितिमा पारदर्शी रूपमा मत गणना भइरहेको बताइएको छ ।
प्रारम्भिक परिणाम केही समयपछि सार्वजनिक गरिने निर्वाचन कार्यालयले जनाएको छ ।